रामेछापका शिक्षाका एक धरोहर पेशल आचार्यको निधन

| साउन १, २०८० सोमबार

A A A
A A A

१ साउन, रामेछाप । जिल्लामा बसेर यहाँको शैक्षिक क्षेत्रको विकास र सयौँ विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गरेका शिक्षक (गुरु) पेशल आचार्यको निधन भएको छ । उनलाई जिल्लाका अधिकांशले गुरु मान्ने गर्छन् ।  

 

घातक प्रकारको रोग ‘ब्रेन ट्युमर’ र सोही रोगको क्यान्सरबाट पीडित भई विगत १ महिना भन्दा लामो समयदेखि उपचाररत आचार्यको सोमबार निधन भएको मन्थली माविका प्रधानाध्यापक टंक प्रसाद दाहालले जानकारी दिए । प्रअ दाहाल उपचाररत आचार्यलाई भेट्न सोमबार मेडिसिटी अस्पताल काठमाडौँ पुगेका थिए । 

 

२०४८ सालदेखि शिक्षक पेसामा रामेछाप दोरम्बाको काकालिङ मावि मार्फत जिल्ला प्रवेश गरेका आचार्यको अन्दाजी ५७ वर्षको उमेरमा निधन भएको हो । त्यसपछि रामेछापको साघुँटार स्थित हिमगंगमा केही वर्षको अध्यायपनपछि सदरमुकाम स्थित मन्थली माविमा निरन्तर पठनपाठन गराउँदै आएका थिए । साथै उनी विभिन्न मिडियामा समेत सक्रिय रुपमा सम्पादकको भूमिका निर्वाह गर्दै आएका थिए । 

 

नेपाली भाषा, साहित्य, कविता, गजल, टीकाटिप्पणी, समसामयिक लेख लगायत आचार्यका किताबहरू समेत प्रकाशित छन् । मन्थली माविका सहायक प्राचार्य पेशल जिल्लामा शिक्षा क्षेत्रको र विकास विस्तारका धरोहर मानिन्छ । 

 

२०५३ असार १७ गतेदेखि आफूसँग सँगै रहेर काम गरेका आचार्यको निधनले आफू स्तब्ध र निःशब्द भएको शिक्षक शिव सुवेदीले रामेछाप टाइम्सलाई बताए । उनले आचार्य कसैले जे भने पनि त्यो कुरालाई सहज रूपमा लिएर तुरुन्तै गर्नु पर्छ भन्ने सहयोगी र निःस्वार्थी भावका रहेको शिक्षक सुवेदीले स्मरण गरे । 

 

त्यस्तै शिक्षक चन्द्रसिंह धामीले आचार्यको निधनले एक ध्रबतारा गुमाएको बताएका छन् । उनको निधनमा शोकाकुल बनेका धामिले आफूसंगै कुनै शब्द नरहेको रामेछाप टाइम्सलाई बताए ।

 

सुरुमा अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको लागि भर्ना गरिएका शिक्षक आचार्यको ब्रेन ट्युमरको अप्रेसन गरिएको थियो । सो अप्रेसन सफल भएको थियो । पछि थप उपचारको लागि मेडिसिटी अस्पतालमा रेफर गरिएको थियो ।

 

पूर्खेउली घर विराटनगर भएका आचार्य जीवन भरी नै रामेछापलाई शिक्षामा योगदान गरी रहे । हाल उनको परिवार भक्तपुरमा बस्दै आएका छन् । जिल्लामा शिक्षा क्षेत्रको एक उदाहरणीय व्यक्त अस्वस्थ भएपछि यहाँमा विभिन्न व्यक्ति, संघसंस्थाहरुले उनको उपचारको लागि सहयोग समेत जुटाएर हस्तान्तरण गरेका थिए ।

 

 

उपचारको क्रममा निधन भएका आचार्यको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने टंकप्रसाद दाहालले जानकारी दिए ।