रामेछापमा आँखाका रोगी अत्याधिकः अब लिखु तामाकोशीमा पनि उपचार केन्द्र, ३ स्थानमा ग्रामीण आँखा उपचार केन्द्र संचालन आउँदै

| साउन १६, २०८० मंगलबार

A A A
A A A

१६ साउन, रामेछाप । रामेछापमा आँखाका रोगी अत्याधिक रूपमा देखिएका छन् । सरकारी स्वास्थ्य संस्थामा आँखा उपचारको प्रभावकारी सेवा नहुँदा रामेछापमा आँखाका रोगी बढ्दै गएको पाइएको हो । ग्रामीण क्षेत्रमा रहेका सरकारी स्वास्थ्य  चौकीमा आँखा उपचार सेवा छैन । यसले गर्दा पनि बिरामी उच्च देखिएका हुन् । 

 

सामान्य औषधीको भरमा आँखाको उपचार हुन्छ भनेर ढुक्क हुनाले सयौँ जनाले आँखाको ज्योति कहिल्यै नखुल्ने गरी गुमाउनु पर्ने बाध्यता समेत बढ्दै गएको समेत भेटिएको छ ।  तिलगंगा आँखा प्रतिष्ठानले रामेछापमा सञ्चालन गर्दै आएको जिल्ला सामुदायिक आँखा केन्द्रले जिल्लामा आँखाका रोगीहरूको अवस्था भयावह बन्दै गएको बताएको छ । २२ वर्षदेखि जिल्ला सदरमुकाम मन्थलीमा रहेर आँखाको उपचार गर्दै आएको उक्त केन्द्रले आँखाको रोगमा हेलचेक्र्याइँ गरेर बस्दा उपचार नहुने जटिलता स्थितिसम्म पुगेको पाइएको जनाएको हो । 

 

 

ग्रामीण क्षेत्रमा बसोबास गर्ने मध्ये करिब १० हजार आँखाका रोगीको मोतिया विन्दु शल्यक्रिया गर्नुपर्ने अवस्था छ । तिलगंगा आँखा प्रतिष्ठान र हिमालयन कन्ट्रयाक परियोजनामार्फत केन्द्रले हालसम्म विभिन्न शिविर सञ्चालन गरी करिब ४ हजार ६ सय जनाको आँखाको मोतिया विन्दुको शल्यक्रिया गरिसकेको जानकारी दिएको छ ।

 

समग्रमा केन्द्रले १ लाख ५३ हजार ७ सय रोगीको आँखा उपचार गरेको छ ।

 

विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरू लगायत २० हजार बच्चाको आँखा परीक्षण गर्ने अभियानमा जुटेका छौँ’

 

सन् २०२३ को जुलाईसम्म मात्र विभिन्न ३ स्थानमा शिविर सञ्चालन गरी ३ सय ४ जना बिरामीको आँखाको शल्यक्रिया गरेको केन्द्रले जनाएको छ ।

 

ग्रामीण क्षेत्रका बालबालिकादेखि वृद्धवृद्धाहरू आँखाको समस्या लिएर अहिले पनि बसिरहेको केन्द्रका प्रमुख उमेश तामाङ बताउँछन् । विभिन्न स्थानमा १० वटा शल्यक्रिया विभिन्न स्वास्थ्य शिविरमार्फत आँखाका रोगीहरूको स्किनिङ गरी उपचार गराउनका लागि सहयोग गर्दै आएका तामाङले झन्डै १८ हजार रोगीको आँखा स्किनिङ गर्ने कार्यक्रम अघि सारेका बताए । ‘हामी विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरू लगायत २० हजार बच्चाको आँखा परीक्षण गर्ने अभियानमा जुटेका छौँ’ तामाङले भने । 

 

विद्यालयमा आउने बालबालिकाहरूले स्कुल छोड्नु पर्ने कारण केही मात्रामा आँखाको समस्या पनि हुने गरेकोले स्कुलमा शिक्षक र विद्यार्थीलाई तालिम दिने योजनासमेत रहेको उनले बताए ।

 

जिल्ला समन्वय समितिको अनुमति लिई स्थानीय सरकारसँग मिलेर तिलगङ्गा आँखा केन्द्रले रामेछापका विभिन्न स्थानमा १० वटा शल्यक्रिया शिविर सञ्चालन गरी मोतिया बिन्दुका १० हजार रोगीको आँखाको शल्यक्रिया गर्ने उनले जानकारी दिए । 

 

जनसङ्ख्याको १ प्रतिशत नागरिकमा विभिन्न कारणले अन्धोपन समेत हुने गरेको छ वरिष्ठ अधिकृत कार्कीले

 

अबको ४ वर्षभित्र जिल्लामा ३ स्थानमा ग्रामीण आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउने योजना तामाङले सुनाए । रामेछाप सामुदायिक आँखा केन्द्रका अतिरिक्त मन्थली अस्पताल र खाँडादेवीमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको तिलगंगाले गत शुक्रवारदेखि लिखु तामाकोशी गाउँपालिकामा समेत आँखा उपचार केन्द्रको सुरुवात गरेको छ । 

 

तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ अधिकृत हरि कार्कीले नेपालमा आँखा उपचार सेवालाई ग्रामीण तह सम्म पुर्‍याउन सक्नु पर्नेमा जोड् दिए । नेपालमा सरदर २० प्रतिशत नागरिकमा आँखाको समस्या रहेको बताउँदै उनले १५ प्रतिशत नागरिकमा चस्मा लगाउनु पर्ने अवस्था रहेको जानकारी दिए । 

 

जनसङ्ख्याको १ प्रतिशत नागरिकमा अन्धोपन रहेको  बताउँदै कार्कीले  मधुमेह लगायतका जटिल प्रकारका रोग लागेका तर उपचारमा ध्यान दिन विभिन्न कारणले नसकेका बिरामीलाई आँखामा समस्या आउने र अन्धोपन समेत हुने गरेको बताए । उनले समय-समयमा आँखाको परीक्षण गर्नु पर्नेमा ग्रामीण क्षेत्रका बासिन्दा सुविधाबाट विमुख रहनु बिड्मबना रहेको औँल्याए ।