शान्ति सुरक्षाको लागि हालसम्म रामेछापमा ७३ वटा सिसिटिभी जडान

| साउन १७, २०८० बुधबार

फाइल फोटो ।
A A A
A A A

१७ साउन, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाको शान्ति सुरक्षाको लागि गत आर्थिक वर्ष ०७९÷०८० सम्म कूल ७३ थान सिसिटिभी जडान गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले गत शनिवार  कार्यालयमा गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको एक आर्थिक वर्षको अपराध अनुसन्धानका कार्यको प्रगति विवरणमा जिल्लाका स्थानीय तहहरूसँगको समन्वय र सहकार्यमा जिल्लाको सीमा नाका र मुख्य बजारहरूमा गरी हालसम्म ७३ थान सिसिटिभी जडान गरिएको तथ्याङ्कले देखाएको हो । 

 

जस अनुसार लिखु तामाकोशी गाउँपालिकाको खिम्ती बजारमा ६ थान, सित्खा–मुलकोट सिमानाका पुलमा नेटवर्क ट्राफिक क्यामेरा १ थान, मन्थली बजारमा ५ थान गरी हाल जम्मा ७३ थान जडान गरिएको हो । साथै जिल्लाको शान्ति सुरक्षा तथा वस्तुस्थिति, आपराधिक गतिविधिहरूको निगरानी गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी होम पराजुलीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

 

त्यस्तै समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत विभिन्न किसिमका अपराध नियन्त्रण तथा रोकथामको लागि  जम्मा ३४२ पटक कार्यक्रम सचेतना मूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । लागू औषध दुर्व्यसनी, मादक पदार्थ दुर्व्यसनी, विद्युतीय अपराध (साइबरक्राइम), जबरजस्ती करणी,आत्महत्या न्यूनीकरण,बालयौन दुरुपयोग, बालविवाह, बहु विवाह, जातीय छुवाछुत, महिला हिंसा, लैंगिक  हिंसा लगायतका अपराध न्यूनीकरण एवं रोकथाम गर्न समुदायमा सचेतनामूलक कार्यक्रम २७४ पटक, विद्यालयहरूमा ६८ पटक  उक्त कार्यक्रम सम्पन्न गरिएको जनाएको हो । 

 

त्यस्तै प्रहरी काम कारबाही प्रति नागरिकको राय, प्रतिक्रिया र गुनासो बारे प्रस्ट हुन तथा सेवा प्रवाह सुधार गर्न आठ वटै स्थानीय तहमा नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको विवरण प्रस्तुत गरिएको हो ।