ढल्केवर प्रसारण लाइनको नाङ्गो तारले हरियो बाँसमा छुँदा खिम्तीमा एउटा भैँसी मर्‍यो, २ लाख बढीको क्षति

| साउन १७, २०८० बुधबार

फाइल फोटो ।
A A A
A A A

१७ साउन, रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा ६ खिम्ती स्थित खानिखोलामा केन्द्रीय प्रसारण लाइनको २२० केभी करेन्टले हरियो बाँसमा छुँदा एक घरमा क्षति पुगेको छ । 

 

ढल्केवर हुँदै त्यहाँ पुर्‍याइएको केन्द्रीय प्रसारण लाइनको नाङ्गो तार २२० केभी भोल्टले सोही ठाउँका ५० वर्षीय केशव कार्कीको घर नजिकै रहेको बाँसको झ्याङमा छुँदा करेन्ट सट भई कार्कीको गोठमा बाँधेको एउटा  भैँसी समेत मरेको सोही वडाका वडा अध्यक्ष  शिवप्रसाद न्यौपानेले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘नाङ्गो तारले बाँसमा छुँदा कार्कीको श्रीमती र कार्की अलिकतिले बाँच्नु भएछ । भैँसी मरेको हो । र, घरका सबै इलेक्ट्रिक सामान जलेको छ।’

 

वडा अध्यक्ष न्यौपानेका अनुसार कार्कीको भैँसी मर्नुको साथै घरमा रहेका २ वटा फ्रिज, मिटर बक्स, तारहरू सबै जलेको छ । घरमा अन्य क्षति भने नभएको अध्यक्ष न्यौपानेले जानकारी दिए । 

 

यसरी नाङ्गो तारले घर नजिकै रहेको हरियो बाँसमा छोएर घरमा करेन्ट सर्ट हुँदा केशवको अन्दाजी २ लाख बराबरको क्षति भएको खिम्ती प्रहरी चौकीका प्रहरी नायव निरीक्षक नवराज थापाले बताएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी रञ्जन गिरीले रामेछाप टाइम्सलाई बताए ।