जिल्ला कारागार रामेछापमा कैदी बन्दीको बिजोक्

| साउन १८, २०८० बिहिबार

फाइल फोटो ।
A A A
A A A

१८ साउन, रामेछाप । जिल्ला कारागार रामेछापमा कैदी बन्दीको कोचाकोच गरी राखिएको छ । यहाँ क्षमता भन्दा झन्डै दोब्बर कैदी बन्दी राखिएको छ । १ सय ५० देखि बढीमा २ सय जना क्षमताको कारागारमा अहिले ३ सय ३५ जना सम्म कैदी बन्दी राखिएका जिल्ला कारागार रामेछापले जनाएको छ । जसमा १७ जना महिला छन् । 

 

‘कैदीबन्दी राख्न साह्रै नै गाहो छ, कारागार प्रमुख रुपलाल तामाङले भने ‘खात लगाएर सुताउनु परेको छ । ठाउँ नपुगेर खाटमुनि समेत कैदी बन्दी रात दिन बिताउन् छन् ।’

 

कारागारलाई सरकारले सुधार गृहको नाममा नामकरण र सो बमोजिमको सुविधा उपलब्ध गराउने नीति भए पनि रामेछाप कारागार भने ‘सास्ती’ गृहको रूपमा रहेको देखिएको हो । यहाँ कारागार भवन निर्माणको पहल नहुँदा मान्छेसँग मान्छे खप्टिएर सुत्नुपर्ने यो समस्या तत्काल हट्ने सम्भावना पनि छैन । 

 

२०७२ सालको भूकम्पले कारागार भत्काएपछि केही भागमा मात्र पुनर्निर्माण गरियो । केही पूरानै संरचनाबाट चल्दै आएको छ । सोही पुराना संरचना थप जीर्ण बनेकाले चुनौती रहेको कारागार प्रशासन बताउँछ । 

 

जीर्ण बनेको कारागारमा २ जना महिलालाई भान्सा कोठामा र अरू १५ जनालाई एउटै कोठामा राखिँदै आएको छ । 

 

कारागार प्रमुख तामाङका अनुसार २०७२ को विनाशकारी भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कारागार पुनर्निर्माण गर्ने भने पनि त्यस बेला कारागार भवन निर्माणका लागि जग्गा व्यवस्थापन हुन नसक्दा बनाउन नसकिएको हो । 

 

नेपाल खाद्य संस्थानको जग्गा खरिद गर्न सके आधुनिक कारागार भवन निर्माण हुन सक्नेतर्फ सम्बन्धित निकायलाई जानकारी गराइएको प्रमुख तामाङले बताए । 

 

‘मैले प्रमुख जिल्ला अधिकारीलाई समेत जग्गा व्यवस्थापनका विषयमा भनेको छु’ तामाङले भने ‘यो जग्गा लिन सकेमा तत्कालका लागि कैदी बन्दी अन्यत्र स्थानान्तरण नगरी भवन निर्माण गर्न सकिने अवस्था छ ।’