वायु सेवा कम्पनीहरुको अटेरीको कारण हुन सकेन रामेछाप-काठमाडौँ उडान

| साउन २२, २०८० सोमबार

रामेछाप विमानस्थल, फालइ तस्बिर
A A A
A A A

२२ साउन, रामेछाप । रामेछापको एक मात्रै विमान स्थल रामेछाप विमान स्थलबाट काठमाण्डौं उडान गर्ने भनेर गरिएको निर्णय कागमै समिति बनेको छ । जहाज उडान गर्ने सहमति भएको भए पनि यहाँबाट लुक्ला उडान गर्दै आएका एयरलाइन्सहरूले चासो नदिँदा निर्णय कागजमा सीमित बनेको हो । 

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप विमानस्थलबाट काठमाडौँका लागि स्थानीय बोक्ने गरी हप्तामा एक वा दुई पटक सम्म उडान गर्ने गरी छलफल गरी सरोकारवालाबिच निर्णय समेत गरेको थियो । तर, निर्णय गरे पनि यहाँबाट सिजनल रूपमा लुक्ला उडान भर्दै आएका सिता, तारा र समिट एयरलाइन्सले अटेर गर्दा उडान अन्योलमा परेको हो । 

 

रामेछापका प्रमुख जिल्ला अधिकारी लगायत जनप्रतिनिधि सहित सर्व पक्षीय बैठक बसेर गएको जेठको तेस्रो हप्तादेखि साप्ताहिक रूपमा नियमित उडान गर्ने निर्णय गरेको थियो । तर, हाल सम्म उडान हुन सकेको छैन । नत, उडान हुने मिति नै निश्चित गरिएको छ । 

 

लामो समय देखि मन्थली–काठमाडौँ जहाज सञ्चालनका लागि स्थानीय स्तरबाट माग हुँदै आएको भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसको बेवास्ता गर्दै आएको छ ।

 

जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) र मन्थली नगर प्रमुख लव श्रेष्ठ लगायतका जन प्रतिनिधिहरू समेतले बारम्बार उडानको लागी माग गर्दै आएका छन् । त्यसको लागि उनीहरूले सम्बन्धित निकायमा सहजीकरण समेत गर्दै आएका छन् । 

 

सांसद तामाङले ‘हामीले धेरै पटक आग्रह गरी सकेका छौँ । हामी सँग हुन्छ भन्नुहुन्छ । तर कार्यान्वयन भने गर्नु हुन्न । यस विषयले हामी गम्भीर भएर सोच्नु पर्ने भएका छौँ ।’

 

उडानका लागि तारा, सीता र समिट एयरले तालिका पेस गरेको र जुन १८ तारिखदेखि उडान भर्ने गरी तालिका अनुमोदन ।
लुक्लाका लागि यात्रु ओसार पसार गर्दै आएका ३ वटा वायु सेवा कम्पनीलाई काठमाडौँ उडानका लागि रामेछापवासीको आग्रह

त्यस्तै मन्थली नगरपालिका प्रमुखले पनि आफूहरूले गरेको अनुरोध सुने नसुनेको गरेको गर्ने गरेको बताउँदै विमानमा यात्रु नियमित नभएको खण्डमा स्थानीय सरकारले त्यसको जिम्मेवारी लिनु पर्ने समेतको भनाई आएपछि आफूहरू चुप बस्नु पर्ने अवस्था आएको बत्ताउँछन् । 

 

उक्त अभियानका लागि नागरिक उड्डयन प्राधिकरण उड्डयन सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरको संयोजकत्वमा गत जेठ ३ गते बसेको बैठकले निजी क्षेत्रका तारा, सीता र समिट एयरले हप्तामा कम्तीमा एउटा उडान गर्ने गरी उडान तालिका बनाएर प्राधिकरणमा पेस गर्ने सहमति भएको थियो । 

 

सोही सहमति अनुसार उडानका लागि तारा, सीता र समिट एयरले तालिका पेस गरेको र जुन १८ तारिखदेखि उडान भर्ने गरी तालिका अनुमोदन भए पनि एयरलाइन्स कम्पनीहरूले उडान तालिका अनुसार उडान नगरेको रामेछाप नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

 

कार्य तालिका सहित उडानका लागि एकतर्फी ३ हजार ५०० भाडा दर निर्धारण गरी जुन १८ तारिखदेखि उडान गर्ने गरी तालिका अनुमोदन गरी कार्यान्वयनमा ल्याउने सहमति पनि भएको थियो । तर अहिलेसम्म उडान हुन नसक्नु अत्यन्त दुःखद कुरा हो । यसरी निर्णय कार्यान्वयन हुन नसक्नु भनेको नागरिक उड्डयन प्राधिकरणको कमजोरी भएको स्थानीयको भनाई छ ।

 

रामेछाप विमानस्थल प्रयोग गरी सोलुखुम्बुको लुक्लाका लागि यात्रु ओसार पसार गर्दै आएका ३ वटा वायु सेवा कम्पनीलाई काठमाडौँका लागि समेत यात्रुवाहक उडानका लागि रामेछापवासीले आग्रह गर्दै आएको पनि लामो समय बितिसकेको छ । 

 

सिजनमा लुक्काको लागि यहाँबाट दैनिक करिब ६० वटा सम्म उडान हुने गरेको भए पनि मन्थली काठमाडौँका लागि कुनै उडान नहुँदा रामेछापवासी भने ३ घण्टाको सडक यात्रा गर्न बाध्य छन् ।

 

त्यसको सबैभन्दा बढी असर सुत्केरी,इमरजेन्सी बिरामी र ज्येष्ठ नागरिकहरूलाई पर्ने गरेको छ । विमान कम्पनीले मन्थली लुकलाका लागि दैनिक ६० भन्दा बढी उडान हुँदा काठमाडौँका लागि एउटा उडान पनि नराख्दा वायुसेवा कम्पनीसँग जिल्लावासी रुष्ट बनेका छन् ।

 

हेड्लाइन्मा अन्यथा भएकोमा सच्याइएको छ