विद्यार्थीमा आँखा पाक्ने रोग तीव्र फैलिएपछि मन्थलीका निजी विद्यालय ३१ गतेसम्म बन्द

| साउन २८, २०८० आइतबार

A A A
A A A

२८ साउन, रामेछाप । आँखा पाक्ने रोगको संक्रमण बढेपछि रामेछापमा निजी क्षेत्रले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । 

 

केही दिन यता जिल्ला सदरमुकाम लगायत आसपासका विद्यालय उमेर समूहका बालबालिकाहरूमा आँखा पाक्ने रोगको संक्रमण अत्यधिक फैलिएपछि निजी क्षेत्रको विद्यालय संचालक संस्था प्याब्सनले भोलि सोमबारदेखि लागू हुने गरी आउँदो ३१ गते बुधवार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सन रामेछापका अध्यक्ष केशव तिमल्सिनाले जानकारी दिए । 

 

उनका अनुसार अहिले सम्म ५० प्रतिशत विद्यालय उमेरका बालबालिकाहरू यो रोगबाट प्रभावित भएका छन् । सोही अनुसार आइतबार छलफल गरी जिल्ला प्याब्सन अन्तर्गत रहेका विद्यालयहरू ३१ गतेसम्म बन्द गर्ने निर्णय गरिएको कर्कलादेवी बोर्डिङ स्कूल (केब्स) का प्रधानाध्यापक समेत रहेका प्याब्सन रामेछापका अध्यक्ष तिम्सिनाले जानकारी दिए । 

 

उनका अनुसार जिल्ला सदरमुकाम मन्थलीका लिटिलस्टार इंग्लिश स्कूल, तामाकोशी इंग्लिश बोर्डिङ स्कूल, केब्स स्कूल र नर्मदेश्वर इंग्लिश बोर्डिङ स्कूल मन्थली ७ को विद्यालय भोलिदेखि ३१ गतेसम्म बन्द हुने छन् । 

 

यसैबिच मन्थली नगरपालिकाले पनि भोलि निजी तथा सामुदायिक विद्यालयका सरोकारवालासँग छलफल गर्न लागेको नगरका सूचना अधिकारी हेमन्त बुढाथोकीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

नगरका महाशाखा प्रमुख एवं सूचना अधिकारी बुढाथोकीले भने ‘निजी क्षेत्रले पनि हामीसँग पनि सहकार्य गरेरै बन्द गर्नु भएको हो । भोलि हाम्रो सबैसँग छलफल गर्दै छौँ । र, जहाँ समस्या देखिएको छ । त्यहाँ बन्द गर्ने गरी कुरा हुने तयारी छ ।’