प्रधानमन्त्री प्रचण्ड आज रामेछापको दोरम्बा आउँदै, सिडिओ सहित सुरक्षाको टोली मिर्मिरेमै मन्थलीबाट हिँड्यो

३२ साउन, रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहीबार रामेछापको दोरम्बा शैलुङ् आउँदै छन् । प्रचण्ड दोरम्बामा हुने स्मृति दिवस कार्यक्रममा दोस्रो पटक आउन लागेका हुन् ।
आज दोरम्बा ‘हत्याकाण्ड’ भएको २० वर्ष पुग्दै गरेको अवसरमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको स्मृति सभा कार्यक्रमलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रमको तयारी पूरा भएको नेकपा माओवादी केन्द्र रामेछाप जनाएको छ ।
प्रचण्ड यस अगाडि पनि एक पटक दोरम्बा शैलुङ आएका थिए । प्रधानमन्त्री प्रचण्ड आउने भएसँगै प्रमुख जिल्ला अधिकारी सहित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहितको जम्बो टोली बिहानै त्यसतर्फ लागेको छ ।
प्रधानमन्त्री प्रचण्ड आउने भएसँगै जिल्लाका सरकारी कार्यालयका प्रमुख सहितको जम्बो टोली मिर्मिरेमै त्यस तर्फ लागेको हो । रामेछाप टाइम्सले बिहीबार बिहान ठिक ६ ः ११ मा टेलिफोन गर्दा सिडिओ निरौलाले ‘हामी खाँडादेवी गाउँपालिकाको कार्यालय परिसरमा पुगिसक्यौँ’ भनिन् ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनिता निरौलाले हामी खाँडादेवी पुगी सक्यौँ । तयारी पूरा भएको जानकारी आएको छ । सुरक्षा व्यवस्थाको चुस्त पारेका छौँ’, सिडिओ निरौलाले थपिन् ‘प्रधानमन्त्री ज्यू साँढे ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट आउने सेडूल प्राप्त गरेका छौँ । स्मृति सभालाई सम्बोधन गरेर १ बजे फर्किने सेडूल छ ।’
सिडिओ निरौलाका अनुसार प्रधानमन्त्री दाहाल साँढे ११ बजे दोरम्बा शैलुङ्गको डाँडाकटेरी भन्ने ठाउँमा हेलिकप्टरमा आउने छन् । डाँडाकटेरीमा शहीदहरूको अर्ध कदको सालिक सहित स्मृति पार्क छ । त्यही ओर्लिएर कार्यक्रमलाई सम्बोधन गर्ने भनिएको छ ।