यस वर्षको मनसुन भित्रियो, एक-दुई दिनमा देशभर फैलिने, सचेत हुन आग्रह

| जेठ २८, २०७८ शुक्रबार

संकेतिक फोटो
A A A
A A A

२८ जेठ,रामेछाप । यस वर्षको मनसुन नेपाल आजदेखि भित्रिएको छ । औसत मिति जुन १३ अर्थात् जेठ ३० गतेभन्दा दुई दिन अगाडि नै मनसुनको आगमन भएको हो । शुक्रबार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन प्रदेश १, प्रदेश २ र बागमती प्रदेशसम्म फैलिएको छ ।

 

अबको एक–दुई दिनमा देशैभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।

 

नेपालमा मनसुन बाहिरिने औसत अध्यावधिक अवधि अक्टुबर २ तारिख निर्धारण गरिएको छ । यस वर्ष मनसुन अवधिभर देशका धेरैजसो स्थानमा सरदर भन्दा बढी पानी पर्ने प्रक्षेपण मौसमविदले गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलका अनुसार यस वर्षको मनसुनमा हिमाली भेगमा बढी र पहाडी भेगतिर हिमाली भेगको तुलनामा अलि कम पानी पर्ने सम्भावना छ । यस्तै तराईका क्षेत्रमा सरदर वर्षा हुने अनुमान छ । प्रदेश १ को दक्षिण भाग र प्रदेश २ को पूर्वी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना औंल्याइएको छ ।

 

गत वर्ष जुन १२ मा भित्रिएको मनसुन अक्टुबर १२ मा बाहिरिएको थियो ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार