बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्न मन्थली नगरपालिका तीव्र छलफलमा

| भदौ ८, २०८० शुक्रबार

A A A
A A A

८ भदौ, रामेछाप । मन्थली नगरपालिकाले बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गर्नको लागि आवश्यक कार्यक्रमलाई तीव्रता दिएको छ । यसै अन्तर्गत नगरपालिकाले केही दिन यता सरोकारवालासँग चरणबद्ध छलफल गरी रहेको छ । 

 

१४ वटा वडा रहेको यो नगरपालिकामा प्रत्येक वडामा १–१ जना कम्प्युटर अपरेटर एवं सहजकर्ता नियुक्ति गरेर गत पुस ९ देखि आवश्यक काम गरी रहेको छ ।  वडा, टोल, विद्यालय र नगर बाल सञ्जालहरू गठन गरी बालबालिकाहरूलाई यसमा जोडेर आवश्यक ५१ वटा सूचक पूरा गर्न महिला बालबालिका शाखा अन्तरगत धमाधम काम गरी रहेको महिला, बालबालिका तथा सामाजिक परिचालन शाखाकी महिला एवं विकास निरीक्षक तथा बालमैत्री स्थानीय शासन फोकल पर्सन भगवती तामाङले बताइन् । 

 

२०८१ जेठ मसान्तमा बालमैत्री स्थानीय शासन लागु घोषणा गर्ने प्रतिबद्धता गरी रहेको यो नगरले घोषणा गर्न १४ वटा वडामा २ सय बाल संजाल र १५ वटा बाल समूह सञ्जाल गठन गरिएको छ । 

अहिलेसम्म बाल समूह र बाल समूह सञ्जालमा १ हजार ८१४ बालक र २ हजार १५५ बालिका गरी ३ हजार ९४९ जना बालबालिका आबद्ध भएका छन् । घरधुरी सर्वेक्षण, शिक्षा, स्वास्थ्य लगायत सूचकमा आवश्यक प्रक्रियाको काम भइरहेको उनले जानकारी गराइन् ।  

 

शुक्रवार नगरले पत्रकार तथा सञ्चारकर्मी सहित वडा अध्यक्ष, शिक्षक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यापारी लगायतसँग छलफल तथा अन्तरक्रिया संयुक्त रूपमा गरेको हो । 

 

बिहीबार स्वास्थ्यकर्मी, फोकल पर्सन, सहजकार्तासंग छलफल गरेको थियो । भोलि शनिवार र पर्सि आइतबार पनि सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । बालबालिकाका हरेक विषय बस्तुसँग सम्बन्धित राखेर गरिने छलफलमा बालमैत्री स्थानीय शासन सहजकर्ता विष्णु प्रसाद चतुर्वेदी (चौबे) ले सहजीकरण गरिरहेका छन् । 

मिलन घिमिरे
| भदौ ६, २०८१ बिहिबार