रास्वपा रामेछाप : सुनापति, खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकाको सभापतिमा पौडेल, केसी र ‘आशिष्’

| भदौ १७, २०८० आइतबार

A A A
A A A

१७ भदौ, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापले गत शनिवार गरेको तीन पालिकाको संयुक्त भेलाले तीनै पालिकाको सभापति चयन भएको छ । सबै सभापति सर्व सहमतिमा बनेका हुन् । भने, बनेको समितिले पूर्णता भने पाएको छैन । 

 

शनिवार रास्वपा रामेछापले पार्टी केन्द्रीय उपसभापति तथा पूर्व श्रम मन्त्री डिपि अर्याल, केन्द्रीय सदस्य तथा संघीय सांसद  सोविता गौतम, केन्द्रीय सदस्य तथा प्रखर वक्ता रमेश प्रसाईँ, बागमती प्रदेश सभापति डा.अच्युतम लामिछाने, केन्द्रीय प्रचारप्रसार विभाग सदस्य कृष्ण मान श्रेष्ठसहितको उपस्थितिमा गाल्पा बजारमा सुनापती, खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकाको संयुक्त भेला गरेको थियो । 

 

सो संयुक्त कार्यक्रमले कपिल पौडेललाई सुनापति, नीराजन केसीलाई खाँडादेवी र भेषराज नगरकोटी (आशिष्) लाई दोरम्बा शैलुङ् गाउँपालिकाको सभापतिको जिम्मेवारी दिएको हो । 

 

यस अगाडि उमाकुण्ड, लिखु तामाकोशी र गोकुलगंगा गाउँपालिकाको समिति गठन सम्पन्न गरेको रास्वपाले शनिवार एउटै कार्यक्रममा तीन पालिकाको नेतृत्व सर्व सहमतिमा गठन गरेको रास्वपा प्रदेश सदस्य एवं जिल्ला संयोजक रमेश रायमाझीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

तीनै पालिकाको ११ सदस्यीय पालिका समितिलाई महिला ४ अनिवार्य र दलितबाट एक (१) जना गरी चाँडै पूर्णता बनाउने सभापतिलाई जिम्मेवारी दिएको जिल्ला संयोजक रायमाझीले बताए । ‘पूर्णता केही दिन भित्र सभापति लगायत चयन भई सकेका सदस्यहरूको उपस्थितिमा पूर्णता पाउँछ ।’ 

 

आठ स्थानीय तह रहेको जिल्लामा अब मन्थली नगरपालिका र रामेछाप नगरपालिकामा पनि छिट्टै भेला गर्ने तयारी भइरहेको जानकारी दिए । त्यसपछि लगत्तै ६४ वटै वडामा समेत संगठन बिस्तार तयारी रास्वपा रहेको उनको भनाई छ ।