प्रजातान्त्रिक आन्दोलनका योद्धा चूडामणि अधिकारीलाई मन्थली अस्पतालले बिदा दियो

| भदौ १९, २०८० मंगलबार

A A A
A A A

१९ भदौ, रामेछाप । प्रजातान्त्रिक आन्दोलनको क्रममा लामो समय जेल जीवन व्यतीत गरेका मन्थली नगरपालिका वडा नं २ कठजोरका नेता चूडामणि अधिकारीलाई अस्पतालले बिदा दिएको छ । वृद्ध अवस्थामा रहेका उनको उपचार भइरहेको थियो । 

 

प्रजातान्त्रिक आन्दोलनको क्रममा ४ वर्ष भारतको कोलकत्तामा र रामेछाप कारागारमा ३ वर्ष जेल जीवन व्यतीत गरेका अधिकारी सिकिस्त बिरामी भएर मन्थली अस्पतालमा केही दिन देखि उपचार गराइरहेका थिए । अधिकारीले २०१७ सालको राजा महेन्द्रको ‘कू’ कदम पश्चात् नेपाली काँग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको नेतृत्वमा सञ्चालित ‘हिट एण्ड रन’ मा सक्रिय हुँदै प्रवासमा ४ वर्ष र तत्कालीन पञ्चायती शासकको ३ वर्षसम्म कठोर यातना सहितको कैदी जीवन व्यतीत गरेका थिए । 

 

वृद्ध अवस्थामा रहेका अधिकारी अस्पतालमा रहेको खबरपछि उनलाई भेट्न पार्टी सचिव दीपक खड्का र मन्थली नगरकै वडा नं २ कठजोरका निवर्तमान वडा अध्यक्ष एवं काँग्रेस युवा नेता जनक खत्रीसहित पुगेका थिए । 

 

अस्पतालमै पुगेर स्वास्थ्य लाभको कामनासहितको भेटेपछि प्रजातान्त्रिक योद्धा अधिकारीलाई अस्पतालले बिदा दिएको र उनलाई घर लगेको सचिव खड्काले जानकारी दिए । नेपाली कांग्रेसका एक इतिहास बोकेका अधिकारीको स्वास्थ्य प्रति चिन्ता व्यक्त गर्दै श्वास्थ्य लाभको कामना गरेका छन् ।