रामेछापका स्थानीय तहमा कोरोना भ्याक्सीनमा अनियमितता

| जेठ २९, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२९, जेठ, रामेछाप । रामेछापको स्थानीय निकायमा कोरोना भ्याक्सीनमा अनियमितता भएको खुलेको छ । सरकारले ६२ वर्षदेखि ६४ वर्ष उमेर समुहका २ हजार ६ सय जेष्ठ नागरीकहरुका लागि ल्याएको दुई हजार ६ सय भायल कोरोेना विरुद्धको खोप  रामेछापका स्थानिय निकायमा मा चरम अनियमितता भएको खुलासा भएको छ । 

 

यसरी कोरोना खोप दुरुपयोग गर्नेहरुमा रामेछाप नगरपालिका सवै भन्दा अगाडी रहेको छ भने मन्थली नगरपालिका दोस्रो स्थान ओगटेको छ । त्यस बाहेक जिल्लाका अरु सुनापति, दोरम्बा लगाएत स्थानिय निकायमा पनि अनियमितता भएको पाइएको छ । श्रोतका अनुसार रामेछाप नगरपालिका स्वास्थ्य शाखा र मन्थली स्वास्थ्य शाखाले ६२÷६४ वर्ष उमेर समुहका नाममा आएको खोप स्वास्थ्यकर्मीहरुले आफु निकट र आफन्त, राजनीतीक दलका कार्यकर्ता तथा पहुँचवाला रामेछाप नगरपालिका वडा नं ६ मा रहेका शिक्षकहरुले कोभिड विरुद्धको भेरोसेल खोप लगाएको प्रमाण बाहिर आइसकेपछि अनियमितता प्रकरण बाहिर आएको हो । 

 

उक्त वडामा वडा अध्यक्षकै निर्देशनमा शिक्षक तथा त्यस वडाका पहुँचवालाहरुले खोपको दुरुपयोग गरेका छन् । सरकारी निर्देशन र मापदण्ड विपरित संस्थागत समन्वय विना  शिक्षक र पहुँचवालाहरुले खोप लगाएर खोपको दुरुपयोग गराएको भन्ने सम्वन्धमा रामेछाप नगर शिक्षक महासंघका अध्यक्ष नारायणप्रसाद घिमिरेले अस्वीकार गरे ।  उनले भने– पालिकाले गरेको यस खालको अनियमितता प्रति महासंघको गम्भिर आपत्ति रहेको छ । हैन भने शिक्षकका नाममा राज्यले विभेद गर्नु ठिक  हैन । रामेछाप नगर स्वास्थ्य प्रमुख विष्णु कार्कीले खोपको दुरुपयोग नभएको दावी गर्दै कतिपय वडाहरुमा निर्धारित उमेर समुहका मानिसहरु उपस्थित नभएकाले खोप नष्ट हुनसक्ने भन्दै आफुहरुले अन्य उमेर समुहका मानिसहरुलाई  खोप लगाएको जानकारी नगरलाई गराएको बताए ।

 

यसवारेमा नगरले सम्वन्धित वडा अध्यक्ष र त्यहाँको वडा स्वास्थ्य प्रमुखहरुकै रोहवरमा खोप बुझाएकाले यसमा नगरको कुनै पनि दोष नरहेको उनको दावी छ । कोरोना महामारीको कारण मुलुक आक्रान्त भइरहेको बेला सरकारले निश्चित उमेर समुह किटान गरि जेष्ठ नागरिकहरुको लागि किटान गरेको खोप सम्वन्धीत पक्षवाटै दुरुपयोग भएको आरोप सरोकारवालाहरुले लगाएका छन् ।

 

रामेछाप स्वास्थ्य केन्द्रवाट खोप लगाउनेहरुमा रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीहरु, सत्ताशिन नेकपा एमाले र अन्य पार्टीका समेत नगरस्तरीय नेताहरु र नगर शिक्षक महासंघका पदाधिकारीहरु समेत रहेका छन् । 

त्यसैगरी मन्थली नगरपालिकामा सरकारी सूचनाका आधारमा खोप लगाउन पुगेका मन्थली नगरपालिका वडा नं ३ का ६४ वर्षिय मोहन बहादुर थापा दिनभरी मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा खोपको प्रतिक्षामा बसेर खोप नलगाई फर्किएको गुनासो गरे । उनले आफुसँगै लाइनमा बसेका आफु भन्दा कान्छा र जेठो उमेरका दुवै थरीका जेष्ठ नागरिहरुले पहुँचको आधारमा खोप लगाएका र आफ्नो भने कुनै पनि आफन्त नभएकोले खोप नै नलगाई फर्केको थापाको भनाई रहेकोे छ ।

 

खोपको दुरुपयोग गर्नेहरुमा स्वास्थ्यकर्मीका आफन्त, नागरिक समाजका अगुवा, राजनितिक कार्यकर्ता, पहुँचवालाहरु र कोरोना संक्रमण भएको चार हप्ता पुरा नभएका व्यक्तिहरु समेत रहेको मन्थली प्राथमिक स्वास्थ्य केन्द्र श्रोतले बतायो । श्रोतका अनुसार खोपको चरम दुरुपयोग हुँदाहुँदै पनि आफुहरु टुलुटुलु हेर्न वाध्य हुनुपरेको थियो । दुई नगरपालिका वाहेक अरु गाउँपालिकामा पठाएको खोप पनि मापदण्ड भित्रका नागरिकहरु उपस्थित नभएको भन्दै त्यहाँका स्वास्थ्यकर्मी,जनप्रतिनिधिहरुको नजिक र आसपासका नागरिकहरुलाई खोप लगाएको बताइएको छ ।

 

त्यसवाहेक यसपटक सरकारी मापदण्ड भित्र नपरेका नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारीहरुले समेत खोप लगाएका छन् । तर प्रहरी श्रोतले भने– नेपाल प्रहरीले ७९, शसस्त्र प्रहरीले २६ र राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारी ८ जनाले मात्र खोप लगाएको दावी गरेको छ । उसका अनुसार नेपाल प्रहरीका लागि १ सय ६४, शसस्त्र प्रहरीको लागि ४० र जिल्लाका संचारकर्मीहरुका लागि २०  गरि २ सय २४ भ्याक्सिन मन्थलीका लागि आएको  थियो । जसमा प्रहरी फोर्सले १ सय १५ ले मात्र लगाएको थियो भने सञ्चारकर्मीले कसैले पनि खोप लगाएका छैनन्  । तर मन्थली नगर स्वास्थ्य कार्यालयले भने सबै खोप ६२–६४ वर्षका जेष्ठ नागरिकहरुले लगाउनु पर्नेमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले जर्वजस्त रुपमा लगाएको दावी गरेको छ ।

 

खोपको अनियमितताको सम्वन्धमा जिल्ला स्वास्थ्य कार्यालय रामेछापसँग सम्र्पक गर्दा जनस्वास्थ्य अधिकृत भुवन थापाले कार्यालयले सम्वन्धीत पालिकालाई सरकारी मापदण्ड अनुसार खोप लगाउन निर्देशन जारी गरेको थियो । सोही आधारमा खोप पठाएको पनि थापाले बताए । खोपको लागि गोकुलगंगा गाउँपालिकालाई २ सय, उमाकुण्ड गाउँपालिकालाई २ सय, सुनापति गाउँपालिकलाई १ सय ५०, दोरम्वा गाउँपालिकालाई १ सय २५, खाँडादेवी गाउँपालिकालाई १ सय ३०, लिखु तामाकोशी गाउँपालिकालाई १ सय ३० र मन्थली नगरपालिकालाई पहिलो पटक ३ सय र दोश्रो पटक १ सय ५० भायल पठाएको भए पनि कतीपय पालिका र वडाहरुमा खोपको दुरुपयोग भएको सूचना कार्यालयलाई प्राप्त भएको थापाले वताए । 

 

उनले जिल्ला स्वास्थ्य कार्यालयले मध्यस्तकर्ता मात्र भएकोले यसमा कार्यालयको कुनै दोष नभएको बताए । सबै खोप केन्द्रवाट खोपको विवरण प्राप्त नभएकाले आधिकारीक रुपमा यसैे भन्न नसक्ने अवस्था भएको बताए । यद्यपि खोपको दुरुपयोग भएको हो भने सम्वन्धीत पालिकाको स्वास्थ्य शाखाका पदाधिकारीकै जिम्मामा हुने बताए । यसबाहेक कार्यालयलाई राजनितिक रुपमा पनि खोपको लागि व्यापक दवाव आएको गुनासो पनि  थापाले गरे । 

 

खोप अनियमितता र प्रहरीले पनि खोप प्रयोग गरेको सम्वन्धमा रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले  ६२÷६४ उमेर समुहका जिल्लामा करिव २ हजार ६ सय मात्रै जेष्ठ नागरिक भएको र बाँकी रहेको खोप सुरक्षाकर्मीहरुलाई र संञ्चारकर्मीहरुलाई क्रमशः दिने निर्णय जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको बताए । 

 

उनले आफुले अनियमितता भएको भन्ने सूचना पाएपछि प्राप्त खोपको विवरण खपत खोप र उमेर समुहका नागरिकहरुको संख्याको वारेमा आजै जिल्ला प्रशासन कार्यालयमा विबरण पेश गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको बताए । 
    
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार