मन्थली देवकोटा चोक र सेलेघाट चेक पोइन्टमाट ‘यात्रु सहायता कक्ष’ सञ्चालन

| असोज २०, २०८० शनिबार

A A A
A A A

२० असोज, रामेछाप । नजिकिएको दसैँ तिहारलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी रामेछापले ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएको छ । शुक्रवार जिल्ला सदरमुकाम मन्थली स्थित देवकोटा चोक र मुख्य प्रवेशद्वारको रूपमा रहेको मन्थली नगरपालिकाकै वडा नं ६ भलुवाजोर स्थित सेलेघाट चेक पोइन्टमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी रञ्जन गिरीले जानकारी दिए । 

 

बाहिरी जिल्लाबाट भित्रिने सवारीको चापलाई व्यवस्थापन सहित यात्रुको सहजताको लागि सहायता कक्षमा रहेका ट्राफिक प्रहरीलाई विविध विषयमा जानकारी लिन÷बुझ्न सकिने, भाडा महँगो लिएमा गुनासो सुनाउन सक्ने लगायतका सेवा प्रदान गर्ने कक्ष गत वर्ष २०७९ को बडा दसैँ,दीपावली तथा छठ पर्वको अवसरमा पनि सञ्चालनमा ल्याइएको थियो । 

 

 

चाडपर्व नजिकिएसँगै जिल्ला भित्रने सवारीमाथि थप कडाइका साथ चेकजाँच समेत थालेको ट्राफिक प्रहरी रामेछापले जिल्ला प्रवेश गर्ने मुख्य प्रवेशद्वारमा पनि विशेष सुरक्षा योजना सहित जाँच गरिरहेको छ । दुई पाङग्रे, अटो, ट्याक्टर, यात्रु वाहक बस, सुमो, बोलेर लगायतका सवारीलाई विशेष निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी होम पराजुलीले जानकारी दिए ।