लुक्लामा भिजिबिलिटी कम हुँदा रामेछापबाट हेलिकप्टरबाट चार्टर उडान, आज सबै भन्दा धेरै उडान

| असोज २०, २०८० शनिबार

फाइल फोटो ।
A A A
A A A

२० असोज, रामेछाप । लुक्लामा मौसममा आएको खराबीको कारण भिजिबिलिटी कम हुँदा शनिवार मन्थलीबाट हेलिकप्टरबाट चार्टर उडान भएको छ । उडान मौसममा सुधार नहुँदा सम्म जारी रहने रामेछाप विमान स्थल कार्यालयले जनाएको छ । मन्थलीमा भने बिहान मौसम केही धुमल्लिएपनि अहिले सुधार भइसहेको छ । अहिले मन्थलीमा चर्को घाम लागेको छ । 

 

गएको असोज १४ गते अर्थात् अक्टोबर १ तारिक देखि औपचारिक रूपमा सुरु भएको मन्थली–लुक्ला उडान केही दिन यता मौसममा खराबी आउँदा उडान नियमित हुन नसकेको हो । सगरमाथा प्रवेशद्वारको रूपमा प्रयोग हुँदै आएको मन्थली लुक्ला सिता, तारा र समिट एयरलाइन्सले विदेशी पर्यटकहरू बोक्दै आएको छ । 

 

काठमाडौँबाट बिपी राजमार्ग हुँदै खुर्कोट–मन्थली सम्म विभिन्न ट्राभल्स एजेन्सीहरूले गाडी मार्फत पर्यटक ल्याउने र यहाँबाट प्लेनमार्फत लुक्ला लाने गरिँदै आइएको छ । 

 

रामेछाप विमान स्थल प्रमुख अशोक थापाले रामेछाप टाइम्सलाई ‘लुक्लामा प्लेनलाई भिजिबिलिटी कम हुँदा हेलिकप्टरले उडान गरिएको छ । हेलिकप्टरलाई कम भिजिबिल्टि भए पनि उडान गर्न सकिने भएकाले यस्तो गरिएको हो ।’

 

सिजन सुरु भएको करिब एक हप्ताको बिचमा आज सबै भन्दा धेरै उडान भएको छ । शनिवार दिउँसो साँढे १ बजे भित्र ४० भन्दा बढी उडान भइसकेको हो । ‘यो सिजनको सबै भन्दा धेरै आज हुन्छ । ४० बढी उडान भइसक्यो । आजै हुँदै छ ।’ 

 

वसन्त ऋतुको चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म रामेछाप विमानस्थल मार्फत सोलुखुम्बुको लुक्ला उडान हुँदै आएको छ । तर, विदेशी पर्यटक मात्रै बोक्ने विमानले स्थानीयहरूलाई भने नबोक्ने भन्दै रामेछाप विमान स्थलको आलोचना समेत हुँदै आएको छ ।