रामेछापका अस्पताल र स्वास्थ्य चौकीको वार्षिक समिक्षाः मन्थली नगर पहिलो, खाँडादेवी दोस्रो, गोकुलगंगा तेस्रो

| असोज २१, २०८० आइतबार

A A A
A A A

२१ असोज, रामेछाप । रामेछापका अस्पताल र स्वास्थ्य चौकीको वार्षिक समीक्षा सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा स्वास्थ्य क्षत्रमा स्थानीय तहहरूले गरेका सेवा प्रवाहलाई आधार मानी स्वास्थ्य कार्यालय रामेछापले यो मूल्याङ्कन गरेको जनाएको छ । यसरी गरिएको मूल्याङ्कनमा मन्थली नगरपालिका पहिलो बनेको छ । भने, खाँडादेवी गाउँपालिका दोस्रो भएको छ । पहिलो भएको मन्थली नगरपालिकाले पछिल्लो समय मन्थली अस्पतालबाट अप्रेसनसहितको सेवा २४ सै घण्टा उपलब्ध गराउँदै आएको छ । त्यस्तै गाउँ घरमा समेत विभिन्न स्वास्थ्य शिविर मार्फत नागरिकलाई घर आँगनमै स्वास्थ्य सेवा दिँदै आएको छ ।

 

त्यस्तै दोस्रो भएको खाँडादेवी गाउँपालिकाले पनि नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिँदै गाउँ-टोलमा सेवा दिँदै आएको छ । भने, मोबाइल क्लिनिक समेत सञ्चालनको तयारी समेत गरी रहेको छ । 

 

यस्तै विभिन्न सूचकलाई आधार मानेर आठ वटै स्थानीय तहका स्वास्थ्य चौकी,अस्पतालहरूलाई उनीहरूले प्रदान गरेका विभिन्न कार्य, कार्य सञ्चालन, व्यवस्थापनको मूल्याङ्कनमा मन्थली नगरपालिकाले यहाँ भित्रका स्वास्थ्य चौकी, अस्पतालहरूको सेवालाई व्यवस्थित र सेवाग्राही मुखी बनाउन सफल भएको स्वास्थ्य कार्यालय रामेछापले गत शुक्रवार र शनिवार आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा सार्वजनिक घोषणा गरेको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका वडा अध्यक्ष रवीन कार्की (नवीन) ले जानकारी गराए । 

 

उनका अनुसार कार्यालय सञ्चालन, व्यवस्थापन लगायतका सूचकलाई आधार मानी गरिएको मूल्याकंनमा खाँडादेबी गाउँपालिका दोस्रो र गोकुलगंगा गाउँपालिका तेस्रो भएको छ । गोकुलगंगा गाउँपालिकाले पनि पालिका भित्र आफ्नै अस्पताल सञ्चालन गरेर नागरिक मैत्री सेवा प्रदान गर्दै आएको छ । साथै गाउँ-टोलमा समेत स्वास्थ्य शिविर, औषधि सेवा प्रदान गर्दै आएको छ । 

 

त्यस्तै जिल्लाका ९९ वटा स्वास्थ्य संस्थाहरू मध्ये मन्थली अस्पताल पहिलो, बिजुलीकोट स्वास्थ्य चौकी (लिखु तामाकोशी गाउँपालिका) दोस्रो भएको छ । 

 

मन्थली ५ सुनारपानी स्वास्थ्य चौकी र ठोसे स्वास्थ्य चौकी (गोकुलगंगा गाउँपालिका) तेस्रो भएका छन् । 

 

यसरी पहिलो दोस्रो र तेस्रो हुने अस्पताल, पालिका र स्वास्थ्य चौकीहरूलाई स्वास्थ्य कार्यालय रामेछापले सम्मान पत्रसहित सम्मान गरेको छ ।