मन्थली माविमा पढ्ने २ बालक बेपत्ता, मन्थली डुब्यो शोकमा

| असोज २३, २०८० मंगलबार

बेपत्ता भएका बालकहरु ।
A A A
A A A

२३ असोज, रामेछाप । मन्थली माविमा अध्ययनरत दुई विद्यार्थी  बेपत्ता भएका छन् । उनीहरू सोमबार विद्यालयबाट निस्किएपछि परिवारको सम्पर्कमा छैन्न । 

 

बेपत्ता हुनेमा मन्थली नगरपालिका वडा नं २ टेकानपुर निवासी सुमन बस्नेतका ११ वर्षीय छोरा सबिन र एकिन्द्र थापा १३ वर्षीय छोरा अनुज रहेका छन् । उनीहरू मङ्गलवार बिहान ७ ः ३० सम्म परिवारको सम्पर्कमा छैनन् । 

 

अहिले मन्थली माविमा परीक्षा चलिरहेको छ । उनीहरू मङ्गलवार परीक्षा दिएर विद्यालयबाट बाहिरिएपछि घर नपुगेका हुन् । सोमबार साँझ सम्म उनीहरू घर नपुगेको र कसैको सम्पर्कमा नभएको खुलेपछि वडा नं २ का अध्यक्ष सुरेन्द्र बहादुर कार्कीले सामाजिक सञ्जालमार्फत उनीहरू हराएको भन्दै खोजी गर्न सहयोग मागेका थिए । बेपत्ता थापा कक्षा ८ मा र बस्नेत ४ मा बढ्ने विद्यार्थी हुन् । 

 

तर, हाल सम्म उनीहरू नभेटिएको सोही ठाउँका कुमार बस्नेतले रामेछाप टाइम्सलाई बताए । ‘भेटिएका छैनन् । सोमबार साँझ ५ बजेको समयमा देवकोटा चोकमा एक जना भाइले करम्बोट तर्फ जाँदै गर्दा भेटेको भन्ने कुरा आयो तर भेटिएका छैनन्’ करम्बोमा होटेल सञ्चालक समेत रहेका बस्नेतले भने ‘न एयरपोर्ट साइड्मा कुइरे (पर्यटक) हरू सँग पो गएकी भनेर खोज्दै छु ।’ 

 

त्यस्तै मन्थली माविका प्रधानाध्यापक टंक प्रसाद दाहालले पनि उनीहरू सम्पर्कमा अहिले सम्म नआएको बताए । ‘त्यो अनुज थापा पहिले पनि २÷३ पटक हराएको रहेछ । परीक्षा दिन आउँछन् कि भन्ने अपेक्षामै छौँ । अहिले सम्म आएका छैनन्, प्रअ दाहालले थपे ‘हिजो दिउँसो २ बजे परीक्षाबाट बाहिर पछि हाम्रो सम्पर्कमा छैनन् । हामीलाई राति ९ बजे मात्रै थाहा भयो ।’

 

 

प्रअ दाहालले परिवारबाट पनि बालकहरूको खोजीमा ढिलाइ भएको भन्दै भने ‘२ बजे विद्यालयबाट हिँडेका ४ बजे सम्म घर नपुगेपछि त खोजी हुनु पर्ने हो तर, राति ९ बजे मात्रै थाहा भयो ।’ 

 

दुई बालक बेपत्ता भएपछि उनीहरूको परिवारमा ठुलो पीडा परेको छ । भने प्रहरी सहितको टोलीले खोजी गरिरहेको जनाइएको छ ।