भूकम्प प्रभावितलाई रामेछापको मन्थली नगरपालिकाले ५ लाख सहयोग गर्ने

| कात्तिक २०, २०८० सोमबार

जाजारकोटका भूकम्प प्रभावितहरु, तस्विर रासस ।
A A A
A A A

२० कात्तिक, रामेछाप । गएको शुक्रवार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्र बिन्दु बनाएर गएको भूकम्प प्रभावितलाई राहत स्वरूप मन्थली नगरपालिका ५ लाख सहयोग गर्ने भएको छ । सो भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरेर १ सय ५३ जनाको ज्यान गएको छ ।

 

मन्थली नगरपालिकाले आइतबार छलफल गरी विपद्मा सहयोग जरुरी हुने भएकाले सो आवश्यकतालाई ध्यानमा राखेर थौरै भए पनि सहयोग गर्न लागेको नगर प्रमुख लव श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । ‘यो विपदमा थोरै नै भए पनि सहयोग गरौँ न भने पठाउन लागेका हौँ ।’

 

२० गते सोमबार नगरपालिकाले आइतबार १९ गते कै मिति राखेर सामाजिक सञ्जाल मार्फत जारी गरेको विज्ञप्तिमा भूकम्पबाट अकल्पनीय दुर्घटना, ठुलो धन जनको क्षति भएको उल्लेख गर्दै पीडितको खोज, उद्धार र राहत व्यवस्थापन कार्यमा जुट्ने सबैलाई आभार समेत व्यक्त गरिएको छ।  

 

साथै नगरपालिकाले भूकम्पमा ज्यान गुमाएका दिवङ्गत आत्माहरू प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

 

६.४ रेक्टरस्किलको भूकम्पमा परी पश्चिम नेपालका जाजरकोट, रुकुमपश्चिम सहितका जिल्ला विपद्मा परेका छन् । भने, सोमबार पनि आज दिउँसो ४ बजेर ३१ मिनेटमा पनि जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

त्यस्तै शुक्रबार यता सयौँको सङ्ख्यामा पराकम्पहरू गइरहेका छन् । दुई जिल्लाका सयौं घरपरिवार राहातको पर्खाइमा छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायबाट सहयोग आउने क्रम पनि जारी छ । आइतबारदेखि नै विभिन्न निकायको सहयोग पीडितलाई पुग्न थालेको छ ।