रामेछापको मन्थली–३ का तत्कालीन सचिव निलम्बित

| मंसिर १०, २०८० आइतबार

फाइल फोटो ।
A A A
A A A

१० मंसिर, रामेछाप । जीवितै मान्छेको नाउमा ‘एकल भत्ता’ खुवाउन मिलोमत्तो गरी झुटो विवरण तयार परेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेपछि तत्कालीन मन्थली–३ का सचिव निलम्बितमा परेका छन् । गत शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जीवितै व्यक्तिको नाममा भत्ता खुवाएको ठहर गर्दै कठजोरकी निर्मला खत्री र तत्कालीन वडा सचिव शिवकुमार महत्तो विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियो । 

 

निर्मलाले उनका श्रीमान् जीवितै हुँदा हुँदै मरेको भनी ‘एकल भत्ता’ खाएकी हुन् ।

 

त्यसपछि आइतबार आजदेखि लागू हुने गरी सचिव महत्तो निलम्बनमा परेको मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले रामेछाप टाइम्सलाई बताए । ‘मुद्दा दर्ता भएपछि उहाँ स्वतः निलम्बित हुने व्यवस्था छ । नगरपालिकाले पत्र प्राप्त भएपछि आज साँझसम्म नभए भोलि (सोमबार) सबैलाई जानकारी दिन्छ’ महाशाखा प्रमुख एवं सूचना अधिकारी समेत रहेका बुढाथोकीले भने ‘मेन्टल्ली रूपमा पनि काम गर्न सक्ने अवस्थामा हुँदैन । निलम्बित भई सक्नु भयो ।’

 

सूचना अधिकारी बुढाथोकीका अनुसार सचिव महत्तोले निलम्बित भएको मितिदेखि मुद्दाको किनारा नलाग्दा सम्म तलब भत्ता पाउने छैन । यदि मुद्दा उनको पक्षमा आयो भने सो अवधिको समेत पाउने व्यवस्था रहेको महाशाखा प्रमुख बुढाथोकीले सुनाए । 

 

अख्तियारले जीवित व्यक्तिको नाममा झुटा विवरण तयार पारेर भत्ता खुवाएको ठहर गर्दै ४५ हजार २ सय २० रुपैयाँ सरकारलाई हानी नोक्सानी’ गरेको उल्लेख गर्दै सोही बराबरको बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको जनाएको छ । 

 

सम्बन्धित समाचार 
- श्रीमान् जीवितै हुँदा ‘एकल भत्ता’ खाने मन्थली-३ की निर्माला खत्री र वडा सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दार्ता