एमाले अध्यक्ष ओली सहित ‘जम्बो’ टोली आज रामेछापको मन्थलीमा आउँदै

| मंसिर २५, २०८० सोमबार

A A A
A A A

२५ मंसिर, रामेछाप । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार रामेछापको सदरमुकाम मन्थली आउँदै छन् । ओली सहितको टोली पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ  ‘समृद्धिका लागि सङ्कल्प यात्रा’को क्रममा आज मन्थलीमा आइपुग्ने कार्यक्रम तय गरेको हो ।

 

ओली सहित करिब ३ सयको जम्बो टोली जिल्ला सदरमुकाम मन्थली आइपुग्ने छ । 

ओलीको स्वागतमा तयार पारिएको गेट, तस्बिर स्रोत सुरेन्द्र बा. कार्की । 

पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली आउने भएसँगै एमाले जिल्ला कमिटी रामेछापले ओलीको स्वागतमा तयारी तीव्र पारेको छ । पार्टी निकट (अनेरास्ववियु) र राष्ट्रिय युवा संघ जिल्ला कमिटीले ओलीको स्वागतको लागि सजिसजावट सहित सबै तयारी पूरा गरेको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द कुमार श्रेष्ठले जानकारी दिए । ‘सबै तयारी पूरा गरेका छौँ । केन्द्रीय सबै पदाधिकारी आउने हो । यो टोलीमा ३ सय ५० भनेका छौँ । तर, थपिन सक् । अहिले ८ बजे पत्रकार भेटघाट गरेर सबै सार्वजनिक गर्ने हाम्रो तयारी हो ।’

 

 बागमती प्रदेशका सांसद समेत रहेका पार्टी जिल्ला अध्यक्ष श्रेष्ठसहितको जिल्ला कमिटीले ओलीको स्वागतमा केही दिन यता व्यस्त रहेका छन् । ‘५ बजे आइपुग्ने सेडूल छ । तर, सेडूल अनुसार केही भएको छैन । आज समय भयो भने पार्टी अध्यक्षले संक्षिप्त सम्बोधन साँझमा गर्नु हुने छ ।’

 

सोमबार आजै राष्ट्रिय युवा संघले ओलीको स्वागतमा मिल्ती बजारदेखि मन्थली बजार सम्म मोटरसाइकल र्‍याली गर्दै छ । र्‍यालीमा झण्डै ५ सय भन्दा बडीको सहभागिता हुने राष्ट्रिय युवा संघले जनाएको छ ।

पार्टी अध्यक्ष ओलीले साँझ ६ बजे मन्थली स्थित तीनलाल पार्कमा आयोजित स्वागत सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । त्यस्तै आज साँझ ओली सहितको टोली मन्थलीमै बास बस्ने छ । साथै सांस्कृतिक कार्यक्रम समेत हुने भनिएको छ । त्यसको लागि राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरू समेत टोलीमा आउने छन् ।

 

पार्टी सचिव पुरुषोत्तम कडरियाले यो यात्राका क्रममा मन्थली आएका नेताहरूलाई यहाँका नेता कार्यकर्ताहरूको घरमा बास बस्ने व्यवस्था मिलाइएको छ । सबै तहका नेताहरूलाई समृद्ध रामेछाप बनाउन अहिलेसम्म गरिएका काम, यहाँको विकास निर्माणको अवस्था, रामेछापको विकासका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको काम, विकास निर्माणमा देखा परेका समस्याहरूका बारेमा ध्यानाकर्षण गराउने तयारी गरिएको सचिव कडरियाको भनाइ छ ।