सिन्धुलीको गोलन्जोर गाउँपालिका सुविधा सम्पन्न प्रशासकीय भवन शिलान्यास, यस्तो बन्ने छ (तस्बिरसहित)

| पुस ८, २०८० आइतबार

A A A
A A A

८ पुस, सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्नो सुविधा सम्पन्न अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरेको छ । गोलन्जोर गाउँपालिका–३ ग्वाल्टारमा आफ्नै करिब ४ रोपनी क्षेत्रफल जग्गामा निर्माण गरिने भवनको आइतबार एक कार्यक्रमका बिच पालिका अध्यक्ष शंकर राज बरालले शिलान्यास गरेर निर्माणको थलानी गरेका हुन् । 

 

सिन्धुलीका ९ स्थानीय तह मध्ये ८ स्थानीय तहले आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवनको निर्माण गरी सेवा प्रवाह सुरुवात गरिसकेका छन्। तर, गोलन्जोर गाउँपालिकाले आफ्नै भवन समेत बनाउन सकेको थिएन।गाउँपालिका बने देखिनै घर भाडामा लिएर सेवा दिँदै आएको पालिकाले यस अघि प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन। पालिकाका अनुसार पार्किङ सहितको ४ तला (३८ कोठे) भवन ६करोड ११ लाख ११ हजार २ सय ५७ रुपैंया लागतमा निर्माण हुने छ ।


आगामी २४ महिना (२ वर्ष) भित्रमा निर्माण सम्पन्न गर्ने गरी पाइनस कन्स्ट्रक्सन प्रा.लि.काठमाण्डौसंग गत भदौ १२ गते ठेक्का सम्झौता गरिएको गाउँपालिकाका इन्जिनियर सुशील काफ्लेले बताए । 

भवन शिलान्यास गर्दै अध्यक्ष बरालले भवन निर्माणपछि गाउँपालिका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवा समेत प्रभावकारी हुने बताए । उनले भने ‘हाल गाउँपालिका भवन साँघुरो भएकोले एउटै कोठाबाट २ भन्दा बढी शाखा सञ्चालन हुँदै आएको नागरिकले सहज सेवा पाउन सकेको छैनन्’ पालिका अध्यक्ष बरालले प्रस्ट्याउँदै भने ‘सास्तीपूर्ण रूपमा सेवा सञ्चालन भइरहेको छ। भवन साँघुरो भएकाले सेवा प्रवाहमा समेत सकस भएको तर प्रशासकीय भवन निर्माण भएसँगै सो समस्याको समाधान हुन्छ ।’


उनले निर्धारित समयभित्रमा गुणस्तरीय रूपमा निर्माण सम्पन्न गर्न सबै जनाको भूमिका उत्तिकै रहने जिकिर गरे। साथै सहयोगको लागि आग्रह समेत गरे।

 

शुक्रवारदेखि मात्रै पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आएका ठाकुर प्रसाद दाहालले विकाससँग जोडिएको प्रशासकीय भवन निर्माणका लागि सबैको सहयोग र साथ आवश्यक रहेको बताए।

 

तस्बिर समाचार सिन्धुलीबाट बलबिर भुजेल ।