रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का वडा अध्यक्ष दर्लामी काठमाडौँबाट पक्राउ

| पुस १२, २०८० शुक्रबार

A A A
A A A

१३ पुस, रामेछाप । सहकारीको रकम ठगीको आरोपमा रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष कैलाशकुमार दर्लामीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

 

पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका  उपाध्यक्ष दर्लामीलाई बिहीबार प्रहरीले काठमाडौँबाट पक्राउ गरेको जनाएको छ । सहकारी ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएपछि दर्लामी गाउँ छाडेर काठमाडौँ गई लुकीछिपी बस्दै आएको बुझिएको छ । 

 

यस अगाडि वडा अध्यक्ष दर्लामी पटक पटक सामाजिक संजाल फेसबुक मार्फत आफ्नो विरुद्ध झुटो प्रचार गरिएको दाबी गर्दै आफूले सहकारीको उपाध्यक्ष पदबाट राजीनामा दिइसकेको लेखेका थिए । साथै उनले उक्त सहकारीसँग कुनै सम्बन्ध नरहेको बताउने गरेका थिए । 

प्रहरीले पक्राउ गरेर नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा  अध्यक्ष दर्लामीलाई बिहीबारै काठमाडौँबाट पोखरा लगेको छ । कास्की प्रहरीको अनुरोधमा काठमाडौँ प्रहरीले पक्राउ गरेका पालिकाको प्रवक्ता समेत रहेका दर्लामी सहित १९ जना विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरू मध्ये संस्थाका कोषाध्यक्ष कुमार रम्तेल यस अघि नै पक्राउ परिसकेका छन् । 

 

प्रहरीले सहकारीका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहित वर्तमान सञ्चालक समिति, पूर्व सञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जनालाई अझै पक्राउ गर्न सकेको छैन । 

 

प्रहरीले राईसहित पूर्व अध्यक्ष भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरुङविरुद्ध फरार भएको आशंकामा इन्टरपोलमा ‘डिफ्युजन नोटिस’ जारी गर्न गत पुस ६ गते नै पत्राचार गरिसकेको जनाइएको छ । 

 

सो सहकारीका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ हिनामिना भएको प्रारम्भिक अध्याय नबाट देखिएको छ । सो रकम हिनामिनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेतको संलग्नता देखिएको दाबी गरिँदै आइएको छ ।