प्रधानमन्त्री ‘प्रचण्ड’ आज रामेछाप आउँदै, बेथान वीरता दिवस र भवन उद्घाटनको कार्यक्रमलाई सम्बोधन गर्ने

१९ पुस, रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहीबार रामेछापको सुनापति आउँदै छन् । ‘प्रचण्ड’ले यहाँ दुई वटा कार्यक्रमलाई सम्बोधन गर्ने तयारी सुनापति गाउँपालिकाले गरेको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले बिहीबार सुनापति स्थिति ‘बेथान वीरता दिवस’ र सुनापति गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनको कार्यक्रमलाई सम्बोधन गर्ने छन् । कार्यक्रम पालिकाको वडा नं ३ हिलेदेवीमा हुने छ ।
२०५३ साल पुस १९ गते राति माओवादीले बेथानको पानीघाटमा रहेको प्रहरी चौकी आक्रमणको गरेको थियो । सोही क्रममा तत्कालीन माओवादीबाट तीर्थ गौतम, फत्त बहादुर स्लामी मगर र दिलमाया बम्जन (तामाङ) ले ज्यान गुमाएका थिए । माओवादीले बेथान चौकी कब्जा गरेर ल्याएको हतियार जनयुद्धमा ठुलो सहयोग पुगेको थियो ।
बेथानमा ज्यान गुमाएका सहिदहरु, तस्बिर फाइल
ज्यान गुमाएका तिनै सहिदको सम्झनामा नेकपा माओवादी केन्द्र सहित कम्युनिष्ट पार्टीहरूले हरेक वर्ष ‘बेथान वीरता दिवस’ को सम्झना गर्दै आएका छन् । सोही कार्यक्रम प्रचण्डले तीन सहिदहरूको सालिकमा माल्यार्पण गर्ने तयारी रहेको र त्यसपछि सिधै पालिकाको भवन उद्घाटन कार्यक्रम जाने तयारी रहेको पालिका अध्यक्ष ठुलो कान्छा तामाङले जानकारी दिए । ‘हामीले ११ बजे भनेका छौँ, सबै आउँदा साढे ११ बज्छ होला ।’
यस अगाडि प्रधानमन्त्री ‘प्रचण्ड’ भवन उद्घाटनमा आउने भएपछि सुनापति गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएको थियो । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि दुई घण्टा नबित्तै पालिकाले उक्त निर्णय समेत फिर्ता लिएको थियो ।
स्थानीय तहहरूले प्रधानमन्त्री (आफू) आउने कार्यक्रममा सार्वजनिक बिदा दिने र बालबालिकाको समेत विद्यालय नै बन्द गरेर प्रयोग गर्ने गरेको भन्दै प्रधानमन्त्रीले बुधवार यस्तो नगर्न स्थानीय तह र सम्बन्धित निकायलाई निर्देशनै दिएका छन् ।
३ करोड माथिको भवन उद्घाटन
प्रधानमन्त्री ‘प्रचण्ड’ले पालिका अध्यक्ष तामाङसहित दोस्रो कार्यकाल उपाध्यक्ष रहेकी गीता विष्ट (चौलागाई), प्रदेश सांसद युवाराज चौलागाई लगायत नेकपा माओवादी रामेछापका नेताहरूको निमन्त्रणमा पालिकाको भवन उद्घाटन गर्न आउने बचन दिएका थिए ।
सुनापति गाउँपालिकाले हाल प्रिफ्याप भवनबाट दिँदै आएको सेवालाई थप सहज र दीर्घकालीन बनाउनको लागि आर्थिक वर्ष २०७७/०७८ देखि २०७९ं/०८० सम्म गरेर ६ ओटा टेन्डर मार्फत प्रशासकीय भवन सम्पन्न गरेको छ । सोही भवन बिहीबार प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने छन् ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीका अनुसार ४ करोड ५६ लाख ४४ हजार ५ सय १५ रुपैयाँ ४ पैसाको लागत अनुमान गरिएको र इबिडिङ मार्फत घटी घटाउमा टेन्डर भएर हाल ३ करोड २८ लाख ४६ हजार ८ सय ८० रुपैयाँ ७ पैसामा निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको भवनमा हाल १० ओटा कोठा र २ ओटा हल रहेका छन् ।