सहकारीको १ अर्ब ११ करोड बढी ठगी प्रकरणमा रामेछापको लिखु तामाकोशीका वडा अध्यक्ष दर्लामी कारागार चलान

| पुस १९, २०८० बिहिबार

फाइल फोटो ।
A A A
A A A

१९ पुस, रामेछाप । कास्कीको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नं ३ का निर्वाचित वडा अध्यक्ष कारागार चलान भएका छन् । सहकारी ठगीमा परेपछि लुक्दै बसेको अवस्थामा उनलाई प्रहरीले सिन्धुली स्थित खुर्कोटबाट पक्राउ गरेको थियो । 

 

 

बुधवार कास्की जिल्ला अदालतका न्यायाधीश वसन्तजंग थापाको इजलासले सहकारीका पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) सहित भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष रहेका कैलाशकुमार दर्लामीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । 

 

दर्लामी लिखु तामाकोशी गाउँपालिकाका प्रवक्ता समेत हुन् । 

 

पोखरामा गितेन्द्र (जीबी) राईको समूहले सञ्चालन गरेको सूर्य दर्शन सहकारीले बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीबी, महेन्द्र भोटेसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

 

सहकारीले झन्डै १९ हजार जना बचतकर्ताको एक अर्ब ३५ करोड ५३ लाख रुपैयाँ अपचलन गरेको भन्दै मुद्दा दायर भएको छ । एक हजार ३५ जनाले एक अर्ब ११ करोड ३४ लाख ठगी भएको आरोपसहित सहकारी विरुद्ध जाहेरी दिएका छन् ।