महोत्सवमा बिकेन किवी, व्यवसायी निराश

| माघ ४, २०८० बिहिबार

A A A
A A A

४ माघ, रामेछाप । कृषि उत्पादनको बजारीकरणलाई पहिलो प्राथमिकता दिएर आयोजित वृहत् रामेछाप महोत्सवमा बिक्रीको लागि राखिएको किवी नबिकेपछि व्यापारीहरू निराश बनेका छन् । पछिल्लो समय गाउँ-गाउँमा अत्यधिक मात्रमा फलेको किवी बिक्री हुन सकेको छैन । थन्क्याएको ठाउँमै कुहिएर समेत फाल्नु पर्ने स्थितिमा रहेको किवीले महोत्सवमा ठाउँ पाएको थियो । तर, यहाँ पनि बिक्री नहुँदा उनीहरू चिन्तित बनेका हुन् । 

 

रामेछाप र दोलखा जिल्लाबाट त्यहाँ उत्पादित किवीलाई बिक्रीको लागि आयोजक रामेछाप उद्योग वाणिज्य संघले निःशुल्क उपलब्ध गराएको स्टलमा लामबद्ध गरेर राखिएको छ । तर, बिक्री भने न्यून मात्रमा भएको व्यवसायी दोरम्बा शैलुङ गाउँपालिका वडा नं १ डाँडा कटेरीका शेर्पा तामाङले रामेछाप टाइम्सलाई बताए । ‘अरुत फाट् फुट्ट भएको देखिन्छ, किवी त जाँदै जाँदै न’ महोत्सव अन्तिम भइसक्यो । त्यत्ति कसैले रुचाएको पाइन ।

 

उनले शैलुङ एग्रीकल्चर प्रोडक्सन प्रालिबाट उत्पादन गरिएको ‘ब्राण्ड’ सहितको किवी बिक्रीको लागि राखेका छन् । ‘मैले ३ सय केजी ल्याएको आधा पनि गएको छैन ।’

 

बजारमा प्रति केजी २ सय रुपैयाँमा खरिद बिक्री हुँदै आएको किवी महोत्सवमा २५० रुपैयाँ सम्म मूल्य लिएर बिक्री गर्दै आएका छन् । ग्रेड् हेरेर किवीको मूल्य रु १५० देखि रु २०० र २५० सम्म लिने गरेको तामाङको भनाई छ । 

त्यस्तै दोलखाको जिरी नगरपालिका वडा नं २ यलुङको सर्वाखास अर्ग्यानिक कृषि फार्मबाट महोत्सवमा ल्याइएको किवी पनि नबिक्दा व्यवसायी चिन्तित देखिएका छन् । आफूले ४० केजी किवी बिक्रीको लागि राखे पनि हाल सम्म १० १२ केजी मात्रै बिक्री भएको व्यवसायी पसाङ तेन्जी शेर्पाले रामेछाप टाइम्ससंग सुनाए । 

 

रामेछाप र दोलखाका किसानहरूलाई आफूहरू समेतको सहजिकरणमा किवी ल्याए पनि बिक्री कम भएको बताएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिर लाल गैरेले पनि बताए । ‘किवी त कम बिक्री भयो भनेर सबैले गुनासो गर्नु भएको छ, सोचे अनुसारको नभएको हामीले पनि पायौँ ।’ 

आर्थिक मन्दी, कोरोना महामारी, चर्को मूल्य वृद्धि लगायतले सुस्ताएको बजारलाई चलायमान बनाउन र स्थानीय स्तरमा उत्पादित कृषि उत्पादनको प्रचारप्रसार सहित बजारीकरणमा टेवा पुर्‍याउने उद्देश्यले जिल्ला सदरमुकाम मन्थलीमा आउँदो आइतबार सम्म महोत्सव भइरहेको छ । 

 

कृषि उत्पादनलाई महोत्सवमा पुग्नेहरूले खरिद् गर्न सहज होस् भनेर मञ्चको अगाडि नै कृषि उत्पादनहरूलाई राखिएको छ । तर, पनि सोचे अनुसारको व्यापार नहुँदा व्यवसायीहरू निराश देखिन्छ । 

 

अन्य व्यवसायीहरूले पनि रातमा मनोरञ्जनात्मक कार्यक्रममा मात्रै दर्शकको भीड लाग्ने गर्दा व्यवसाय न्यून मात्रै भएको सुनाए ।