वृहत् रामेछाप महोत्सव : आजदेखि तामाकोशी नदीमा र्याफ्टिङको मज्जा लिन पाइने, राजु परियारको दोहोरी पनि

| माघ ५, २०८० शुक्रबार

A A A
A A A

५ माघ, रामेछाप । गएको पुस २६ गते देखि जारी ११ दिने वृहत् रामेछाप महोत्सवमा आज शुक्रवार देखि र्याफ्टिङको मज्जा लिन सकिने भएको छ । आयोजक रामेछाप उद्योग वाणिज्य सङ्घका अनुसार शुक्रवार र शनिवार दुई दिन तामाकोशी नदीमा र्याफ्टिङ चलाएर थप मनोरञ्जन दिन लागिएको हो । 

 

बिहीबार कलाकार सरोज लामिछाने, करिशमा ढकाल लगायतका कलाकाहरुको प्रस्तुति पछि सञ्चालक रामकुमार पौडेलले ‘भोलि देखि तामाकोशी नदीमा र्याफ्टिङको मज्जा लिन सक्नु हुने छ’ उद्घोष गरे । 

 

बिहान १० बजे हल्देदेखि तामाकोशी नदीमा आउने गरी सबै तयारी पूरा भएको र्याफ्टिङ सञ्चालक सुमन खड्काले रामेछाप टाइम्सलाई बताए । त्यसको लागि सबै तयारी पूरा भएको उनको भनाई छ । 

 

‘आज १० बजे आयोजकको टिमलाई हल्देबाट लिएर आउने तयारी छ । पहिले चलाएको ठाउँबाटै चलाउने हो, त्यसको लागि बोट सहित सबै सामान आइसक्यो’ सुमनले रामेछाप टाइम्ससंग भने । 

 

उनका अनुसार दुई दिन चलाउने र्याफ्टिङ सवार गर्न प्रति व्यक्ति एक हजार शुल्क लाग्ने छ । एक पटकमा १० जना चड्न मिल्ने यो र्याफ्टिङले महोत्सवमा थप मनोरञ्जन दिने अपेक्षा गरिएको छ । 

पर्सी आइतबार संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले समापन गर्ने वृहत् रामेछाप महोत्सवमा शुक्रवार आज लोक दोहोरी क्षेत्रका वद्शाह मानिने राजु परिवार सहितका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ । 

 

९ दिन देखि जारी महोत्सवमा जिल्ला भित्र र बाहिरका गरी ४१ हजार बढीले अवलोकन गरी सकेको आयोजक उद्योग वाणिज्य सङ्घका महासचिव कुमार श्रेष्ठले बताए ।