जिल्ला अस्पताल रामेछापले भन्यो–‘नगर अस्पताल’ जसरी नहेर्नू, हामी सबै सेवाकाे लागि सक्षम छौँ, सेवा लिन आउनुहोस्’ (भिडिओ)

| माघ ११, २०८० बिहिबार

A A A
A A A

११ माघ, रामेछाप । जिल्ला अस्पताल रामेछापले आफूलाई रामेछाप नगरपालिकाको मात्रै अस्पताल जसरी हेरिएको भन्दै त्यस्तो भावना नराख्न आग्रह गरेको छ । यो अस्पताल समग्र रामेछाप जिल्लाको सम्पत्ति रहेको भन्दै यसलाई सबै स्थानीय तहहरूले अपनत्व लिनु पर्ने र त्यसको विकास, बिस्तारसँगै यहाँको सेवा लिनु पर्नेमा जोड् दिएको छ । 

 

पछिल्लो समय जिल्ला अस्पताल रामेछाप प्राविधिक तथा व्यवस्थापकीय हिसाबले पूर्ण बन्दै गएको प्रष्टपार्दै अब यहाँका बिरामीले यही अस्पतालबाट गुणस्तरीय सेवा सुलभ मूल्यमा ढुक्क भएर लिनु पर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन् डा.केशव श्रेष्ठले बताए । ‘जनशक्ति होस् या प्राविधिक सबै पक्षमा राम्रो हुँदै गइरहेको छ । अब मात्रै यहाँ सेवाग्राहीहरूको खाँचो हो’ रामेछाप नगरपालिका वडा नं ८ अवस्थित जिल्ला अस्पताल बिरामीको उपचार गर्न सबै पक्षले तयार रहेको भन्दै डा.श्रेष्ठले भने ‘जिल्लाका सबै स्थानीय तहबाट बाहिर जानुको साटो यही सस्तो र भरपर्दो सेवा लिन आउनु पर्‍यो ।’ 

 

बुधवार जिल्ला अस्पतालको आर्थिक वर्ष ०७९/०८० को सामाजिक परीक्षण सार्वजनिक र अस्पतालको हाल सञ्चालित गतिविधि बारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा बोल्दै डा.श्रेष्ठले अस्पतालमा सेवाग्राही नै कम पुग्दा आफूहरूले दिन चाहेको सेवा दिन नसकेको बताएका हुन् । उनले जिल्लाभित्रका बिरामी अन्यत्र जिल्ला धाउन सक्ने तर आफ्नै जिल्ला अस्पतालमा नपुग्दा यहाँको स्रोत साधनको उपयोग हुन नसकेको बताए । 

यातायातको पहुँच सेवाग्राही ले चाहेको बेला सञ्चालन नहुँदा जिल्ला सदरमुकाम मन्थली, लिखु तामाकोशी, गोकुलगंगा, उमाकुण्ड, खाँडादेवी, दोरम्बा र सुनापतिका बिरामी जिल्ला अस्पताल पुग्न सकेका छैन । सोही विषयलाई केन्द्रमा राख्दै डा.श्रेष्ठले आफूहरूले निकै सस्तो मूल्यमा सेवा दिई रहेकाले बाहिर गएर हजारौँ खर्च हर्नु भन्दा यहाँ आउन सुझाए । 

 

सोही अवसरमा बोल्दै रामेछाप नगरपालिका वडा नं ८ का वडा अध्यक्ष सन्तोष तामाङले जिल्ला अस्पताललाई रामेछाप नगरपालिकाको ‘नगर अस्पताल’ जसरी हेरिएको भन्दै सरोकारवालाको ध्यानाकर्षण गरे । ‘रामेछाप नगरको केन्द्रमा भएकाले सबै दायित्व रामेछाप नगरले मात्रै बोक्नु पर्छ जस्तो गरी हेरिँदै आएको छ । रामेछाप डाँडालाई हेर्ने दृष्टिकोण फरक बनाउनु पर्छ ।’

उनले जिल्ला अस्पतालबाट उत्कृष्ट सेवा प्रवाह भइरहेको सुनाउँदै यो अस्पताललाई बागमती प्रदेशकै उत्कृष्ट अस्पताल बनाउनु पर्नेमा जोड् दिए । वडा अध्यक्ष तामाङले बिरामीको सङ्ख्या बढाउन अस्पतालले प्रदान गर्दै आएका सेवालाई थप प्रचारप्रसार गर्न जरुरी रहेको धारणा राखे । १५ बेडबाट ५० बेड्मा स्तर उन्नति हुन जिल्लावासी कै लागि खुसीको विषय रहेको तर्क गर्दै दिगो विकासको लागि सबै मिलेर काम गर्नु पर्नेमा जोड् दिए । 

 

जिल्ला अस्पतालका अध्यक्ष यमकुमार पाख्रिनले पनि अस्पताल ठाउँ कोल्टे परेर सेवाग्राही जान नसक्नु गलत बुझाइ हो भने । उनले आगामी दिनमा जिल्ला अस्पतालमा पहिले सेवा लिने त्यसपछि मात्रै पैसा तिर्ने वातावरण समेत बनाउन लागेको सुनाउँदै जिल्लामै सञ्चालित यो अस्पताल छिमेकी जिल्लाका अस्पतालहरू भन्दै निकै गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्न सक्षम रहेको जिकिर गरे । 

 

उनले जिल्लाका अन्य स्थानीय तहका बिरामी यहाँ सम्म पुर्‍याउन मन्थली र रामेछाप नगरले समन्वय गरेर इलेक्ट्रिक गाडी (नगर बस) चलाइदिन सके थप मद्दत पुग्ने योजना रहेको बताए । ‘मैले यस अगाडि पनि उहाँहरूलाई भनी सकेको छु, तर, खासै चासो दिएको पाएको छैन ।’ 

यो पनि पढ्नुहोस् 

जिल्ला अस्पताल ‘रामेछाप सफा र सुन्दर’ : भूगोलले गर्दा आधा जनता सेवाबाट बञ्चित्, यस्ता छन् सेवाहरु (भिडिओसहित)