रामेछापको मन्थली नगरपालिका भित्र धूम्रपान र मद्यपान ‘स्मोकिङ जोन’मा मात्रै गर्न पाइने, अटेर गर्नेलाई कारबाही

| माघ १६, २०८० मंगलबार

मन्थली बजार, फाइल ।
A A A
A A A

१६ माघ, रामेछाप । मन्थली नगरपालिकाले नगर भित्रका पसल, होटेलहरूमा धूम्रपान तथा मद्यपान गर्न कडाइ गरेको छ । उसले पसल र होटेलमा धूम्रपान गर्न ‘स्मोकिङ जोन’ तोकेर मात्रै गर्न निर्देशन दिएको छ । साथै यो निर्णय अटेर गर्नेलाई कानून बमोजिम कारबाही गर्ने सम्म चेतावनी समेत दिएको छ । 

 

मंगलबार नगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँले एक सूचना जारी गर्दै १२ औ नगर सभाको निर्णय अनुसार ‘बालमैत्री स्थानीय शासन युक्त’ नगर घोषणा गर्ने लक्ष्य अनुरूप उक्त कार्य अगाडि बढेको बताउँदै मद्यपान तथा धूम्रपानमा बालबालिकालाई असर नपुर्‍याउने गरी सेवन गर्न आग्रह गरेका हुन् । 

 

प्रशासकीय अधिकृत चौलागाईले जारी गरेको पत्रमा ‘बालमैत्री स्थानीय शासन सघन रूपमा कार्यान्वयन गर्न गराउन १४ वटै वडाको भू–भाग भित्र संचालित खुद्रा पसल, किराना पसल र होटेल व्यवसायमा नगरपालिकाबाट टाँस भएको ‘सावधान स्टिकर’ बमोजिम गर्भवती महिला र १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मद्यपान, धूम्रपान सुर्तीजन्य वस्तु ओसारपसार तथा बिक्री वितरण नगर्नु हुन साथै निकृष्ट बालश्रममा नलगाउनु हुन’ भनिएको उल्लेख छ । 

 

यस अगाडि नगरपालिकाको अगुवाइमा १४ वटै वडा, सार्वजनिक स्थलहरू, सवारी सधानमा बालबालिका मैत्री जानकारी गराउँदै स्टिकर टाँसेको थियो । 

 

सोही अनुसार अब नगरभित्र १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई धूम्रपान, मद्यपान र सुर्ती जन्य पदार्थ ओसारपसारमा संलग्नता गराउन पाइने छैन । त्यसको लागि नगरले ७ दिन भित्रमा व्यवस्थापन गर्न समय समेत तोकेको छ । 

 

नगरको सूचनाको बेवास्ता गरी कानुनले निषेध गरिएको कार्य गरे गराएको थाहा पाएमा कानून बमोजिम दण्डित गर्ने समेत जारी सूचनामा चेतावनी दिइएको उल्लेख छ । 

 

यो हेर्नुहोस् सूचना