रामेछापको लिखु तामाकोशी गाउँपालिकाले तीन वडाका किसानलाई दियो अनुदानमा मकैको बिउ

| फागुन ९, २०८० बुधबार

तस्बिर गाउँपालिकाको सचिवालय फेस्बुकबाट साभार ।
A A A
A A A

९ फागुन, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको मकैको बिउ वितरण गरेको छ । उन्नत जातको बिउ पाएपछि किसानहरु पनि खुसी देखिएका छन् । 

 

गत आइतबार गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ का किसानहरूलाई ५० प्रतिशत अनुदानमा चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अन्तर्गत मकैको बिउ वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको हो । 

 

 

चालु आर्थिक वर्षमा वडा वडाबाट आएको माग बमोजिम पाँच हजार किलो मकैको बिउ वितरण गरिने जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले किसानहरूले माग गरेका रामपुर, कम्पोजिट, मनकामना–३, गणेश–३ र अरुण –२ जातका मकैको बिउ वितरण गरिएको हो । 

 

कृषि, पशुपालन र खानेपानीको सुविधा सहज र सरल बनाउन लागि परेको यो पालिकाले उन्नत जातको मकैको बिउले पालिकामा मकैको उत्पादन वृद्धि हुन लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । 

 

‘हामीले कृषिबाटै आत्मनिर्भर र उहाँहरूले गरेको थोरै मेहनतबाट राम्रो उत्पादन होस् भन्ने उद्देश्यले बिउ प्रदान गरेका हौँ’ गाउँमै मकैको बिउ पाएर उहाँहरू पनि खुसी हुनु हुन्छ भन्दै प्रशासकीय अधिकृतले भने ‘यसले उहाँहरूमा उत्साह देखिएको छ ।’