रामेछाप प्रशासनमा मिटरब्याजीको समस्या सम्बोधन गर्न ‘सहजिकरण डेस्क’ स्थापना, चार वटा उजुरी परे
१२ चैत, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूको गुनासोको सुनुवाइ गर्ने ‘सहजिकरण डेस्क’ स्थापना गरिएको छ ।
सोमबार (आज) जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको पत्रानुसार अनुसार कार्य गरेको उल्लेख गर्दै डेस्क सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।
कार्यालयकी कर्मचारी सम्झना भुजेललाई सहजीकरण डेस्क र सूचना अधिकारी समेत रहेका प्रशासकीय अधिकृत प्रकाश प्रधानलाई फोकल पर्सन (गुनासो सुनुवाइ तथा सहजीकरण) अधिकृतको जिम्मेवारी तोक्दै कक्ष एवं ‘सहजिकरण डेस्क’ सुरु गरेको हो ।
यस अगाडि गृह मन्त्रालयमा उपप्रधानसहित गृह मन्त्री रवि लामिछानेको ‘इन्ट्रि’ भएपछि ७७ वटै जिल्ला प्रशासनमा मिटरबाजी सम्बन्धि समस्या समाधान गर्न ‘डेस्क’ स्थापना गरेर अगाडि बढ्ने बताइएको थियो ।
हाल सम्म जिल्लामा चार वटा मिटर ब्याजी सम्बन्धि उजुरी परेको र चार वटै समाधान भइसकेको सूचना अधिकारी प्रकाश प्रधानले रामेछाप टाइम्सलाई बताए । ‘यस अगाडि परेका सबै समाधान भइसकेका छन् । अबको लागि डेस्क पनि सञ्चालनमा आएकाले थप सहजिकरण हुन्छ ।’