सातौँ पटकको सूचनापछि १० वर्षको लागि वार्षिक १० लाख रुपैयाँमा भाडामा लाग्यो मन्थली नगरको तीनलाल पार्क

| चैत १५, २०८० बिहिबार

A A A
A A A

१५ चैत, रामेछाप । सातौँ पटक ठेक्का आह्वानको सूचना गरेपछि मन्थली नगरपालिकाले झण्डै सात करोड लागतमा निर्माण गरेको स्विमिङ पुलसहितको तीनलाल पार्क १० वर्षको लागि ठेक्कामा लागेको छ । पटक–पटक ठेक्का आह्वान गर्दा पनि ठेक्का नलागेर नगरपालिकाको टाउको दुखाइको विषय बनेको पार्क भ्याट बाहेक वार्षिक १० लाख रुपैयाँमा भाडामा लागेको मन्थली नगरपालिकाले जानकारी दिएको छ । 

 

निर्माणको चरणमा समेत निकै झमेला खेपेको ‘नगर गौरवको’ आयोजनामा समावेश यो पार्क २८ असार, २०८० मा निर्माण कम्पनी पाँचपोखरी सुवेदी जे.भी.ले नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकालाई हस्तान्तरण भएको १० महिना बित्तान लाग्दा सात पटकको सूचनापछि बल्ल ठेक्का लाग्ने प्रक्रियाको अन्तिम चरणमा पुगेको हो ।  

 

जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नं १  हाटेचौर स्थित तीनलाल पार्क पछिल्लो पटक याङ्जोम् सप्लायर्सले १० वर्षको लागि वार्षिक १० लाख (भ्याट बाहेक) नगरलाई बुझाउने गरी सम्झौताको अन्तिम चरणमा पुगेको नगरपालिकाको राजश्व शाखा (सहायक स्तर चौथो) रामकुमार माझीले रामेछाप टाइम्सलाई बताए ।

 

‘१–२ दिन भित्र सम्झौताको काम सकिन्छ’ उनले थप प्रस्ट पार्दै भने ‘हिजो मात्रै दुवै पक्ष बसेर यसबारेमा अन्तिम छलफल समेत भएको छ ।’

 

अपेक्षा गरीको अनुसार पार्कबाट आम्दानी नहुने देखिएपछि ठेक्कामा लाग्न हम्मे-हम्मे परेको हो । गत साउन १५ गते प्रथम पटक भ्याट बाहेक २० लाख रुपैयाँमा ठेक्का आह्वान गर्दा खरिदै नभएपछि नगरले ०२ भदौ, २०८० मा फेरी २० लाख रुपैयाँमै अर्को सूचना मागेको थियो । 

दोस्रो पटक एक हप्ताको मात्रै समय दिएर गरिएको सूचनामा कुनै प्रस्ताव नपरेपछि १३ भदौमा मूल्य घटाएर १५ लाख ७३ हजारमा तेस्रो पटक सूचना गरेको थियो । तेस्रो पटक दुई हप्ताको समय तोकेर सूचना गरिँदा पनि कुनै प्रस्ताव नपरेपछि चौथो पटक भदौ २६ गते १३ लाख ३० हजार रुपैयाँमा ठेक्का आह्वान गरिएको थियो । 

 

आर्थिक मन्दीको कारण व्यवसाय चौपट भएको, व्यवसाय गरेर सन्तुष्ट हुन स्थिति परिस्थिति नरहेको लगायतका कारणले पार्क ठेक्कामा नलाग्ने स्थिति देखेपछि नगरपालिकाले मूल्य घटाएर पाचौं पटक २२ मंसिरमा १० लाखमा ठेक्का आह्वान गरेको थियो । सो समयमा पनि कुनै पार्क प्रति चासो नदिएपछि छैटौँ पटक ०८ माघमा १० लाखमै अर्को सूचना गरेको थियो । 

 

सो समयमा पनि जिल्लाकै मुटुकै रूपमा रहेको तामाकोशी नदी किनार छेउमा बनेको जिल्लाकै ठुलो दाबी गरिएको सभा हलसहित सुविधा भएको पार्क ठेक्का नलागेपछि सातौँ पटक ०३ फागुनमा १० लाख रुपैयाँमै गरिएको ठेक्का गर्दा प्रस्ताव परेपछि सम्झौताको प्रक्रिया अगाडि बढेको माझीले रामेछाप टाइम्सलाई बताए । 

 

महिला, बालबालिका र पुरुषको लागि छुटाछुटै स्विमिङ (पौडी पोखरी) पुल, २ तले प्रशासनिक भवन, ४०८ जना क्षमताको सभा भवन, ७५ देखि १०० जना क्षमताको चेन्जिङ्ग रुम, स्नान कक्ष, चमेना गृह (क्याफटरिया भवन), टिकट घर तथा शौचालय र प्रवेशद्वारसहितको सुविधा रहेको पार्कमा रेस्टुरेन्ट एवं होटेल सञ्चालनको लागि अनिता गरुङ्द्वारा संचालित सप्लायर्सले ठेक्कामा पाएको माझीले रामेछाप टाइम्सलाई बताए ।

 

कुल १० करोड १७ लाख ८८ हजार २ सय ५ रुपैयाँ ४८ पैसा लागत अनुमान गरिएको तीनलाल पार्क नगरले १७ रोपनी जग्गामा पाँच पोखरी सुवेदी जे।भी।लाई ६ करोड ८८ लाख २२ हजार ३ सय ७ रुपैयाँ २४ पैसामा ठेक्का दिएको थियो । 

 

समयमा निर्माण गर्न नसकेको भनेर निकै आलोचना समेत खेपेको यो आयोजनाले अन्तिम ६ करोड ८६ लाख २१ हजार ६ सय ८७ रुपैयाँ १३ पैसा भुक्तानी गरेको थियो । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार