भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर रामेछापको उमाकुण्ड गाउँपालिकाका काका भतिजकाे मृत्यु

| बैशाख १९, २०८१ बुधबार

A A A
A A A

१९ वैशाख, भक्तपुर । चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर आज रामेछापको उमाकुण्ड गाउँपालिका प्रितीका दुई जनाको मृत्यु भएको छ ।

 

ज्यान गुमाउनेमा भाडाको जग्गामा टहरो हालेर बस्दै आएका उमाकुण्ड गाँउपालिका-४ प्रिती घर भएका २८ वर्षीय  सन्देश सुनुवार र उनका काका ४६ वर्षीय दीपक सुनुवार रहेकाे जिल्ला प्रहरी परिसर भक्तपुरका राजन कार्कीले जानकारी दिए । उनीहरूको बुधबार ज्यान गएको हाे 


आफू बसेको जग्गामा इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्केर अचेत अवस्थामा रहेको जानकारी पाएलगत्तै विपद् व्यवस्थापन महाशाखा काठमाडौँबाट २५ जना, जिल्ला परिसर भक्तपुरका ३० जना प्रहरी टोली, सशस्त्र प्रहरी बलबाट नौ जनाको प्रहरी टोली र आरएनए–१६ को टोली घटनास्थल पुगेर उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल लगेपनि दुवैको मृत्यु भइसकेको उनले जानकारी दिए। 

 

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको र शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको उनले बताए ।