रामेछाप रस्नालुका मेयरमान वि कको हत्यारा सोही ठाउँका शेर्पा चार वर्षपछि जेल चलान

| बैशाख २१, २०८१ शुक्रबार

A A A
A A A

२१ वैशाख, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले झण्डै चार वर्ष भन्दा लामो समयदेखि मेयरमान बि.कको हत्या आरोपमा फरार रहेका रस्नालुका एक प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ । जेल चलान हुनेमा गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालु बस्ने ‘साँगा झाक्री’ भन्ने साङतेन्जी शेर्पा रहेका छन् । 

 

उनलाई मेयरमान हत्या आरोपमा जिल्ला अदालत रामेछापले २०७८ असोज १९ दोषी ठहर गर्दै एक वर्ष कैद र रू १० हजार जरिवाना सहित पीडित राहत कोषमा दुई सय रुपैयाँ भराउने फैसला गरेको थियो । 

 

साथै २०७९ पुस २४ गतेको पुनरावेदन मुद्दाको फैसला गर्दै उच्च अदालत पाटनले समेत १० वर्ष कैद र रू एक लाख जरिवाना हुने फैसला गरेको थियो । त्यसपछि फरार भएका शेर्पालाई बुधवार गाउँमै घुमफिर गरिरहेको अवस्थामा भएको गोप्य सूचनाको आधार खटिएको प्रहरी टोलीले पक्राउ गरी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

उनलाई बिहीबार कारागार चलान गरिएको हो । 

 

शेर्पाले गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालुकै ५३ वर्षीय मेरमान वि.क लाई २०७७ साल पुस २५ गते दिउँसो ज्यान मार्ने नियत राखी साङ्घातिक रूपमा कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । शेर्पाको कुटाइबाट गम्भीर घाइते बि कको काठमाण्डौ स्थित त्रि.वि.वि.टिचिङ अस्पतालमा उपचारको क्रममा २०७७ पुस २९ गते मध्यान्न १२ बजे तिर निधन भएको थियो ।