५ दिनमा बाढी, पहिरोमा परी ११ जिल्लाका १५ जनाको मृत्यु : १६ जना घाइते, २५ बेपत्ता, १७६० जना मानिस विस्थापित

देशैभरिका ११ जिल्ला बढी प्रभावित्, १ हजार ७ सय ६० जना मानिस विस्थापित

| असार ४, २०७८ शुक्रबार

संकेतिक फोटो
A A A
A A A

०४ असा, काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत गत जेठ ३० यता १५ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसोसम्म १५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा ९ जना पुरुष, ३ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोक र डोटीमा ३-३ जना, सप्तरी,काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची,  पाल्पा, कास्की, कालिकोट, र बाजुरामा १-१ जना छन् । 

 

त्यस्तै बाढी, पहिरो र डुबानमा परी १६ जना घाइते भएका छन् । तीमध्ये १० जना पुरुष, ४ जना महिला र २ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ६ जना, म्याग्दीमा ३ जना, जुम्ला र डोटीमा २-२ जना, कास्की, स्याङजार  र सल्यानमा १-१ जना रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

 

त्यस्तै आजसम्म बाढी पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ५ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा १७ जना, जाजरकोटमा ७ जना र बाजुरामा १ जना रहेका छन् । बेपत्ताहरुको खोजी कार्य जारी छ ।


बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना र सल्यानबाट ८ जना गरी १ सय २ जनाको उद्दार गरिएको छ । उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।

त्यस्तै नेपाल प्रहरीका अनुसार पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले शुक्रबार विस्तारै सुचारु गरिएको छ । साथै वर्षाको कारण दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान र दैलेख लगायतका स्थानहरुमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

हाल सम्म बाढीको कारण १ सय ९९ वटा घर डुबानमा परेका छन् । जसम १ सय ३८ वटा घर, ११ वटा गोठ, १२ वटा पुल,  एक विद्यालय र ७ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । 

बाढीका कारण बितेको ५ दिनको अवधिमा ५ सय २८ वटा घरका १ हजार ७ सय ६० जना मानिस विस्थापित भएका छन् भने ५ सय १६ वटा पशु चौपायको मृत्यु भएको छ । साथै बाढी र पहिरोको कारण सिन्धुपाल्चोकका ईलाका प्रहरी कार्यालय हेलम्बु र प्रहरी चौकी तालामाराङ स्थानान्तरण गरिएको छ ।

 

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् ।

 

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोग उद्दारका काम भैरहेका छन् ।