सहकारीको ३ करोड ८० लाख बढी रकम ठगी गरेको आरोपमा रामेछापको दोरम्बा शैलुङका निर्वाचित वडा अध्यक्ष तामाङसहित ११ जना विरुद्ध पक्राउ पुर्जी जारी

| जेठ ११, २०८१ शुक्रबार

गंगाबहादुर तामाङ, वडा अध्यक्ष एवं सहकारीका सचिव ।
A A A
A A A

११ जेठ, रामेछाप । सहकारीको रकम ठगी गरेको अभियोगमा रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ५ गुन्सालका वडा अध्यक्षसहित ११ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केहीलाई पुर्पक्षको लागि थुनामा पठाउन समेत आदेश भएको हो । 

 

काभ्रेपलाञ्चोक स्थित पुण्यश्वर सहकारीको सचिव पदमा रहेका  दोरम्बा शैलुङ गाउँपालिका–५ गुन्सालका वडा अध्यक्ष गंगाबहादुर तामाङसहित सहकारीका सञ्चालक र कर्मचारी विरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत काभ्रेपलान्चोककी अधिकृत एवं सूचना अधिकारी हिराकुमारी भण्डारीले रामेछाप टाइम्सलाई बताइन् । ‘पुर्जी जारी भएको छ ।’

 

सोही आरोपमा यसअघि पक्राउ परेका उक्त सहकारीका उपाध्यक्ष झम्कप्रसाद गौतम, कोषाध्यक्ष पवित्रा चौलागाई र व्यवस्थापक कुमार गौतमलाई पुर्पक्षका लागि कारागार पठाउने जिल्ला अदालतले आदेश दिएको छ । 

 

जिल्ला अदालत काभ्रेपलाञ्चोकका जिल्ला न्यायाधीश शिवकुमार पोखरेलको इजलाशले उक्त आदेश दिएको सूचना अधिकारी भण्डारीले बताइन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय धुलिखेलले दायर गरेको अभियोगपत्रमा काभ्रेपलान्चोक जिल्ला अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम सञ्चालक र कर्मचारी समेत १५ जनालाई प्रतिवादी बनाएको थियो । 

 

प्रतिवादी बनाएका मध्ये ३३ वर्षीय लेखापाल संगिता खड्कालाई ५० हजार धरौटी माग गर्ने आदेश भएको हो । भने, हाल फरार ११ जना प्रतिवादीलाई पक्राउ आदेश भएको भण्डारीले बताइन् । 

 

पाँचखाल नगरपालिका–२ बस्ने ३७ वर्षीय कृष्णबहादुर तामाङ समेत ६५ जना बचतकर्ताहरूले ३ करोड ८० लाख ९३ हजार ४ सय १८ रुपैयाँ बचत फिर्ता माग गर्दै सञ्चालकहरू विरुद्ध मुद्दा दर्ता गरेका थिए ।

 

उक्त प्रकरणमा रामेछापको साबिक गुन्सी भदौरे गाविस १ हाल सुनापती गाउँपालिका–१ गुन्सी घर भएर हाल बनेपा नगरपालिका वडा ७ बस्ने सहकारी संस्थाका अध्यक्ष ६० वर्षीय डम्बरप्रसाद गौतम, संस्थाका उपाध्यक्ष ४१ वर्षीय झम्क प्रसाद गौतम, दोरम्बा शैलुङ गाउँपालिका–५ का निर्वाचित वडा अध्यक्ष समेत रहेका सहकारीका सचिव ५२ वर्षीय गंगाबहादुर तामाङ, कोषाध्यक्ष ३२ वर्षीय पवित्रा चौलागाई विरुद्ध जाहेरी दिएका थिए । 

 

त्यस्तै सञ्चालक सदस्य ४७ वर्षीय कमला चौलागाई, ३१ वर्षीय अमृत गौतम, ३५ वर्षीय टिकालाल श्रेष्ठ विरुद्ध पनि जाहेरी दर्ता भएको थियो ।

 

त्यस्तै कर्मचारीहरू व्यवस्थापक ३६ वर्षीय कुमार गौतम, चौरी देउराली सेवा केन्द्रको लेखापाल तथा क्यासियर २१ वर्षीय कविता गौतम, लेखापाल ३३ वर्षीय संगिता खड्का (थापा), पाँचखाल सेवा केन्द्रका ऋण अधिकृत २८ वर्षीय सुवास मगर, बजार प्रमुख २२ वर्षीय सजिना श्रेष्ठ, २३ वर्षीय मनीषा गौतम, २० वर्षीय सुप्रिया तामाङ, २७ वर्षीय सरस्वती दाहाल (ढकाल) विरुद्ध पनि रहेको बताइएको छ । 

 

बचत कर्ताले सहकारी ठगी अभियोगमा प्रतिवादी बनाइएकाहरूबाट बचतकर्ताहरूको रकम असुल उपर तथा क्षतिपूर्तिको माग गर्दै मुद्दा दर्ता गरेका हुन् ।