मन्थली अस्पतालमा सुरु भयो ‘टेलिमेडिसिन’ उपचार सेवा

| जेठ १२, २०८१ शनिबार

A A A
A A A

१२ जेठ, रामेछाप । चाँडै नै बागमती प्रदेश स्तरीय अस्पतालको रूपमा स्तर उन्नति हुन लागेको जिल्ला सदरमुकाम स्थित मन्थली अस्पतालमा ‘टेलिमेडिसिन’ उपचार सेवा सुरु भएको छ । इन्टरनेटको माद्यमद्वार एक अस्पतालदेखि अर्को अस्पतालका चिकित्सकसँग भिडिओ, अडिओसहित कुराकानी र समन्वय गरी उपचार गर्ने विधिलाई ‘टेलिमेडिसिन’ भनिन्छ । बागमती प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, धुलिखेल अस्पताल र अस्पताल सञ्चालक एवं व्यवस्थापन समितिसहित मन्थली नगरपालिकाको पहलमा यो सेवा सुभारम्भ भएको हो । 

 

शुक्रवार बिहानदेखि यो सेवा मन्थली अस्पतालमा सुरु भएको अस्पतालका प्रमुख एवं (एमडिजीपी) डाक्टर समीर क्षेत्रीले जनाकारी दिए । ‘हामीले निकै पहिलेदेखि प्रयास गरिरहेका थियौँ । आजदेखि सुरु भएको हो । यो निकै उपलब्धि मूलक नै रहन्छ ।’

 

पहिलो दिन शुक्रवार हिजो धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति विभागका विशेषज्ञ चिकित्सकले मन्थली अस्पतालमा आएका महिलाहरूको ‘टेलिमेडिसिन’द्वार उपचारमा सहयोग गरे । यसरी उपचार गर्दा बिरामीहरूले लामो समय कुर्नु नपर्ने, बिरामीले स्त्री तथा प्रसूति रोगका विशेषज्ञ चिकित्सकसँग परामर्श सहजै पाउने र परामर्श अनुसारको उपचार पाउँदा निकै सहज हुने डाक्टर क्षेत्रीले प्रस्ट पारे । यो विधिद्वारा जिल्लामै पहिलो पटक उपचार सुरु गरिएको उनको दाबी छ ।

 

 

जिल्ला पहिलो पटक सुरु भएको दाबी गरिएको यो सेवा समन्वय गरिएका अस्पतालहरूका चिकित्सकहरूको समय अनुसार बार अनुसार मिलाएर सबै रोगको यो विधिद्वारा उपचार गर्ने अस्पतालको तयारी रहेको डाक्टर क्षेत्रीले बताएका हुन् । 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार