प्रेस युनियनको ३३ औँ स्थापना दिवस : रामेछापमा ‘वर्तमान अवस्थामा मिडियाको भूमिका र चुनौती’ विषयक अन्तरक्रिया

| जेठ १३, २०८१ आइतबार

A A A
A A A

१३ जेठ, रामेछाप । नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापले ३३ औँ स्थापना दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । जिल्ला समन्वय समितिको सभा हलमा ‘वर्तमान अवस्थामा मिडियाको भूमिका र चुनौती’ विषयमा जिल्लामा क्रियाशील पत्रकारहरूसहित स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलकासंग छलफल भएको हो । साथै वक्ताहरूले आसन्न (यही जेठको २६ गते) हुन लागेको पत्रकार महासंघको तीनै तहको निर्वाचनका बारेमा समेत धारणा राखेका छन् । 

 

अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का (कार्की) पत्रकारहरूले संघ सङ्गठनभित्र भएका समस्याहरूलाई हल गर्दै निष्पक्ष रूपमा पेसागत जिम्मेवारी निर्वाह गर्नु पर्ने आग्रह गरिन् । उनले पत्रकारहरूले आफ्नो कमीकमजोरीलाई सुधार गर्दै नागरिकलाई विश्वासिलो सूचना र समाचार दिन सक्नु पर्ने सचेत गराइन् । ‘पत्रकारहरूले गर्न हरेक गतिविधिमा हुने कमी कमजोरी सुधार गर्नु पर्छ र नागरिकलाई सत्य, तथ्य समाचार दिन सक्नु पर्छ ।’ 

 

कार्यक्रमको प्रमुख अतिथि कार्कीले पत्रकारहरूले एकले अर्काको कमजोरी माथि प्रश्न उठाउनु भन्दा पनि संस्थागत र पेसागत मुद्दामा एक भएर अगाडि बढ्न सुझाव दिइन् । उनले पछिल्लो समय मिडियामा आर्थिक चुनौती रहेको उल्लेख गर्दै आफूहरूले सहयोग गर्नु पर्ने ठाउँमा सधैँ तयार रहेको प्रतिबद्ध जनाइन् ।  

 

त्यस्तै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले राज्यलाई संकट पर्दा मिडिया आवश्यक पर्ने उल्लेख गर्दै विकास निर्माणमा राज्यले छुट्टाएको बजेटमा जनताले आफ्नो पनि दायित्व बुझेर नलाग्दा सरकारले सोचे अनुसारको काम गर्न नसकिरहेको दाबी गरे । 

 

पत्रकारहरू भित्रै राजनीतिक आस्था र बिचारको कारण केही प्रभाव र असर परी रहेको दाबी गर्दै भने ‘प्रेस जगतलाई जुन खालको समस्या अहिले आएको छ । त्यसलाई सबै संघ संगठन एकै ठाउँ बसेर मिलाउन सकियो भने हामीले सोचेको काम गर्न सकिन्छ ।’

 

खोज पत्रकारिता गर्न जोड् दिँदै अनुसन्धान मूलक समाचारहरू बाहिर ल्याउन पत्रकारहरूलाई आग्रह गरे । नगरपालिकाले पत्रकारहरूलाई सहयोग उनीहरूको समन्वय र सहयोगमा गर्दै आएको नगर प्रमुख श्रेष्ठको भनाई छ । 

 

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की, नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष हिमाल ढुङ्गेल, महासंघ बागमती प्रदेशका कोषाध्यक्ष एवं जिल्ला शाखाका निवर्तमान अध्यक्ष रमेश ढुङ्गेल, महासंघका अध्यक्ष एवं प्रेस युनियन रामेछापका पूर्व अध्यक्ष बद्री नयाँघरे, प्रेस युनियन केन्द्रीय सदस्य रिता मगर, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, प्रेस चौतारी बागमती प्रदेश सदस्य लेखबहादुर बि क, नेविसंघ रामेछापका सभापति विनोद बुढाथोकी, ट्रेड युनियन काँग्रेस रामेछापका सचिव लालसिंह तामाङ लगायतले ‘वर्तमान अवस्थामा मिडियाको भूमिका र चुनौती’ सँगै समसामयिक राजनीति, सामाजिक र आर्थिक प्रभाव, असरका बारेमा धारणा राखेका थिए । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार