पत्रकार महासंघको केन्द्रीय निर्णयमा गम्भीर आपत्ति जनाउँदै रामेछापसहित ७ जिल्लाका अध्यक्षहरूको संयुक्त विज्ञप्ति जारी

| जेठ १६, २०८१ बुधबार

A A A
A A A

१६ जेठ, रामेछाप । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सार्वजनिक गरेको भनिएको सदस्यता नामावली प्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सात जिल्लाका शाखा अध्यक्षहरूले  संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । 

 

बुधवार प्रदेश राजधानी हेटौडाबाट संयुक्त विज्ञप्ति जारी गर्दै सात जिल्ला अध्यक्षहरू चितवनका नारायण अधिकारी, मकवानपुरका मणिराज गौतम, काभ्रेका बद्रीराज तिमिल्सिना, रामेछापका बद्री नयाँघरे, दोलखाका दिपशंकर चौलागाँई, धादिङका राजाराम शर्मा र सिन्धुलीका कृष्णहरि घिमिरेले केन्द्रको निर्णय प्रति असन्तुष्टि जनाएका हुन् । 

 

‘सदस्यता शुद्धीकरण अभियानको मापदण्ड र सर्कुलर अनुसार जिल्ला कार्यसमितिबाट सर्वसम्मत रूपमा निर्णय गरी सिफारिस गरी पठाइएका सदस्यहरूलाई केन्द्रले आफू अनुकूल विधि, प्रक्रिया मिचेर जथाभाबी थप्ने तथा हटाउने गरेको प्रति हाम्रो पूर्ण असहमति रहेको छ’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । 

 

निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला मार्फत पठाइएका सदस्यता सिफारिसलाई लत्त्याएर गरिएको निर्णयले निर्वाचनको वातावरण बिथोलिएको समेत जिल्ला अध्यक्षहरूले जिकिर गरेका छन् । 

 

विधि, प्रक्रिया र मापदण्ड अनुसार सिफारिस गरी पठाइएको नामावली विपरीत सार्वजनिक गरिएको नामावली तत्काल सच्याउन र पत्रकारितामा क्रियाशील रहेका, महासंघको सांगठनिक संरचनाहरूमा रहेका, जिल्लाले विधानअनुसार अभिलेखीकरणका लागि पठाएको नामावलीलाई अन्तिम रूप नदिएको खण्डमा बागमती प्रदेश अन्तर्गतका सबै जिल्ला समितिहरू निर्वाचनका कुनै पनि गतिविधिमा सहभागी नहुने संयुक्त प्रेस विज्ञप्ति मार्फत चेतावनी दिएका छन् । 

 

‘यसबाट उत्पन्न हुन सक्ने सम्पूर्ण परिस्थितिको नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र निर्वाचन समिति पूर्ण जिम्मेवार हुने’ जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार