मन्थलीमा संचालित क्विन बचत तथा ऋण सहकारी संस्थाले एक हजार बचतकर्ताको लाखौं रकम यसरी पार्दैछ जोखिममा ?
६ असार, रामेछाप । आधुनिक प्रविधिको प्रयोगबाट आकर्षक रूपमा डिजाइन गरेर मनै लोभ्याउने कार्यालय व्यवस्थापन । तुलनात्मक रूपमा मन्थलीमा संचालित सबै बैंकहरुको भन्दा व्यवस्थित कार्यालय । आकर्षक फर्निचरका सामाग्री, कम्प्युटर, कुर्चीहरूले भरिएको देवकोटा चोकैमा संचालित क्विन बचत तथा ऋण सहकारी संस्था । भव्य एवं व्यवस्थित कार्यालयमा न कुनै प्रमाण पत्र नै छन् । न त, दर्ता लगायत अन्य कुनै कागजात ।
जिल्ला भर कार्य क्षेत्र रहेको यो सहकारीमा ९ सय ९९ जना सदस्य एवं बचतकर्ता जोडिएका छन् । काठमाडौँको चाबहिलमा केन्द्रीय कार्यालय सञ्चालनमा रहेको छ भन्दै मन्थलीको चोकैमा कार्यालय खोलेर धमाधम बचत संकलन गरिरहेको पाइएको छ । अझ अर्चम्मको कुरा त के छ भने यो सहकारीको सञ्चालक समिति नै को-को हुन् र छन् भन्ने नै सहकारीकै कर्मचारीलाई थाहा नरहेको पाइएको छ । पाँच सय हाराहारीमा सहकारी दर्ता भएको तथ्याङ्क रहेको रामेछापमा क्विन सहकारी भने कुनै पनि सहकारीको नियामक निकायसँग आबद्ध छैन ।
रामेछाप बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष एवं बागमती प्रदेशको बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन) सञ्चालक समेत रहेका जगन्नाथ दाहाल (जेएन) ‘यो सहकारी हामीले पटक–पटक आबद्ध हुन गरेको परिपत्र, आग्रह सबैलाई नजर अन्दाज गरेर बसेको छ । यो हामीसँग मात्रै नभएर कुनै पनि निकायसंघ आबद्ध हुन मानिरहेको छैन । विधि र प्रक्रिया अनुसार चलेको मै आशङ्का गरेका छौँ’ भन्छन् ।
उनले थपे ‘हामीले एक/दुई पटक कार्यालयमै गएर पनि हेर्यौ । कार्यालय व्यवस्थित छ । तर, कागजात र अन्य प्रक्रिया हामीले माग्दा र बुझ्न खोज्दा पनि असजिलो गरेको पाएका छौँ ।’
१३ फागुन, २०७८ देखि मन्थलीको देवकोटा चोकमा सेवा सुरु गरेको यो सहकारी कुनै पनि नियामक निकायसँग आबद्ध नरहेको मन्थली–१ घर भएका सहकारीका असिस्टेन्ट म्यान्जेर पदमा कार्यरत विकेश श्रेष्ठ आफैले पनि स्वीकार गरे ।
रामेछाप टाइम्सले यस बारेमा कार्यालयमै पुगेर बुझ्दा उनले भने ‘म केही समय अगाडि आएको हुँ । हामी कुनै पनि संघहरुमा आबद्ध भएको थाहा छैन । यो आर्थिक वर्ष सकिएपछि कुनैमा आबद्ध हुनु पर्छ कि भनेर कुरा चलेको छ ।’
आफू मन्थली क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत रहेको र पढ्दै काम गर्ने सिलसिलामा यो सहकारीमा जोडिएको बताउँदै भने ‘स्थानीय सरकारमा पनि दर्ता भएर नभएको थाहा भएन ।’
क्विन सहकारीको सूचना पाटीमा टाँसिएका सूचनाहरु
अझ सजिलो भाषामा भन्दा असिस्टेन्ट म्यान्जेर पदमा कार्यरत श्रेष्ठलाई यो सहकारी कसरी किन सञ्चालन भइरहेको छ भन्ने नै प्रस्ट नरहेको पाइयो । उनले यसबारेमा माथिल्लो निकायमै बुझ्नु पर्ने बताउँदै यसबारेमा आफू पूर्ण जानकार नरहेको बताएका हुन् ।
१ जना टेलर एवं क्यासियर र आफूसहित ६ जना कर्मचारी कार्यरत रहेको बताएका श्रेष्ठले केन्द्रीय कार्यालय चावेल पाल्जामा गेलु घर भएका हेम्चन लामाले सञ्चालन गरेको र रामेछापमा पनि आफूहरूले कार्यक्षेत्र विस्तार गरेर काम गरिरहेको बताएका हुन् ।
दैनिक ८० हजार देखि एक लाख सम्म बचत संकलन एवं आर्थिक कारोबार गर्दै आएको यो सहकारीले ९० लाख बराबरको ऋण लगानी गरेको छ । हाल सम्म २ करोड ७५ लाख बराबरको आर्थिक कारोबार गरेको यो सहकारीले सेवा केन्द्रको रूपमा सञ्चालन हुनु पर्नेमा आफै केन्द्रीय कार्यालय भए जसरी बोर्ड राखेको छ । कुनै जिम्मेवार निकाय र जवाफ देही नभएको यो सहकारीमा राखिएको बचत कार्यरत कर्मचारीहरू मात्रै सम्पर्कमा रहेनन् भने पनि सयौँ बचतकर्ताको लाखौँ रकम डुब्ने जोखिममा रहेको पाइएको हो ।
यहाँ जम्मा हुने सबै रकम सिधै केन्द्रमा पठाउँदै आएको र फिर्ता लिन आउनेहरूलाई आफूहरूले सजिलै रकम फिर्ता गर्दै आएको असिस्टेन्ट श्रेष्ठले बताए । पैसा चाहियो भनेर आउनेहरूलाई हामीले प्रक्रिया अनुसार सजिलै दिने गरेका छौँ’ तर यहाँका कर्मचारीहरू यदि सबै भागे अर्थात् सम्पर्कमा रहेनन् भने त रकम जोखिममा छिन भन्ने रामेछाप टाइम्सको प्रश्नमा त्यो त हो भन्दै श्रेष्ठले स्विकारे ।
यसरी यहाँ जम्मा भएको सिधै पठाउन समेत नमिल्ने उल्लेख गर्दै सङ्घका अध्यक्ष दाहालले जिम्मेवार सञ्चालकहरू नरहेको सहकारीमा बचत गरेको रकम उच्च जोखिममा हुने बताए । बचतकर्ताहरूले पनि सहकारीहरूको बारेमा प्रस्ट बुझेर आबद्ध हुन समेत आग्रह गरे ।
सहकारीहरू विधि र प्रक्रियामा चल्नु पर्नेमा जोड् दिँदै सहकारी क्षेत्रका एक अभियान्ताले भने ‘यसरी सञ्चालक, अध्यक्ष एवं जिम्मेवार निकाय नभएको सहकारीले पैसा उठाएर भोलि त्यो कोही पैसा बोकेर गाएप भए भने को जिम्मेवार हुने । त्यो निकै गम्भीर विषय हो । त्यस्तालाई नियामक निकाय र स्थानीय सरकारले तत्काल कारबाहीमा लैजानु पर्छ ।’
मन्थली नगरपालिकाले आफूहरूलाई जानकारी नै नगराई सहकारी सञ्चालन भएको पाइएपछि प्रक्रियामा गएर सञ्चालन गर्न आग्रह गरेको पाइएको छ । उक्त आग्रह पछि मन्थलीकै ३० जना मात्रै रहेको एक सहकारीमा मर्ज भएको र त्यसपछि प्रदेशले सञ्चालनको अनुमति दिएर पत्र पठाएको बुझिएको छ ।
नगरको एक पत्रकार भेटघाटमा समेत उक्त सहकारी नियम विपरीत चलेर यहाँका जनताको रकम उच्च जोखिममा परेको भन्दै त्यस्ता सहकारीहरूलाई कारबाहीको दायरामा लानु पर्नेमा सरोकारवालाहरूले नगरको ध्यानाकर्षण गरे ।