प्रेस युनियन रामेछापले ७ बुँदे माग राख्दै पत्रकार महासंघ रामेछापको भवनमा धर्ना दियो

| असार १८, २०८१ सोमबार

A A A
A A A

१७ असार, रामेछाप । नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापले नेपाल पत्रकार महासंघ जिल्ला शाखा कार्यालय मन्थलीमा धर्ना दिएको छ । पटक–पटक मिति तोकेर अनिश्चित जस्तै बन्दै गएको महासंघको निर्वाचन तोकिएको मिति भित्र गर्नु अघि क्रियाशील पत्रकारहरूको सदस्यता नामावली टुङ्ग्याएर मात्रै निर्वाचन गर्न आग्रह गर्दै युनियन जिल्ला शाखाले महासंघको भवनमा दुई घण्टा धर्ना दिएको हो ।

 

युनियनकी केन्द्रीय सदस्य रिता मगर (घिमिरे) सहितको उपस्थितिमा जिल्ला अध्यक्ष ज्ञान श्रेष्ठ अन्य पदाधिकारी, सदस्य, पूर्व अध्यक्षहरूको सहभागितामा कार्यालयमा ७ बुँदे माग राख्दै धर्ना दिएको सचिव सागर बोहराले बताए । 

 

पत्रकार महासंघको गरिमा कायम गर, सदस्यता शुद्धीकरणमा गरिएको मनपरी अन्त्य गर, व्यक्तिवादी सदस्यता सूची तत्काल खारेज गर, क्रियाशील पत्रकारहरूलाई सदस्यता प्रदान गर जस्ता मागसहित झन्डै एक वर्ष अगाडि देखि प्रेस चौतारी रामेछाप शाखाले ताला बन्दी गरेको महासंघको गेटमा धर्ना दिएका हुन् । 

यस अगाडि पनि पत्रकार महासंघको सदस्यता शुद्धीकरणमा मनपरी भएकोमा गम्भीर आपत्ति जनाउँदै ताला बन्दी समेत गरेको प्रेस युनियनले आफ्नो माग पूरा नहुँदा सम्म निर्वाचन गर्न नदिने अडान सहित विधान विपरीतका गतिविधि बन्द गर, सदस्यता शुद्धीकरण विधान र उचित मापदण्ड अनुसार गर, सहितका माग राखेर ताला बन्दी गरेको प्रेस युनियन रामेछापका उपाध्यक्ष कुमार श्रेष्ठले बताए । 

युनियनले निर्वाचन तालिका स्थगित गरी सदस्यता विवाद टुङ्गाएर मात्रै महासंघको निर्वाचन हुने वातावरण बनाउन आग्रह गर्दै आफ्ना मागहरूलाई सम्बोधन गर्न समेत महासंघ नेतृत्वलाई आग्रह गरेको छ ।   

 

यही असार २२ गते तीनै तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्वाचन तालिका समेत सार्वजनिक भइसकेको अवस्थामा  देशभरिका नेपाली काँग्रेसको शुभेच्छुक संस्था युनियनले महासंघले सदस्यता शुद्धीकरणमा मनपरी गरेको र आफ्ना क्रियाशील सदस्यहरूको सदस्यता काटेर पठाएको भन्दै माग सम्बोधन नहुँदा सम्म निर्वाचन गर्न नदिने सम्म चेतावनी दिँदै आएको छ । 

 

जिल्ला शाखाले केन्द्रीय निर्देशन बमोजिम धर्ना दिएको बताउँदै युनियनको माग पूरा नहुँदा सम्म आन्दोलन जारी रहने अध्यक्ष श्रेष्ठले बताइन् । 

 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार