नेपाली साहित्यका प्रथम सहिद अधिकारीको गाउँमा उनको मृत्युको एक सताब्दिपछि बन्यो सालिकसहितको पार्क

| असार २९, २०८१ शुक्रबार

A A A
A A A

२८ असार, रामेछाप । नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारीको गाउँमा उनको सालिक सहितको पार्क निर्माण गरिएको छ । प्रथम सहिदको सम्मान गर्दै वडामा पर्यटकीय प्रवर्द्धन गर्नको लागि सालिक सहितको पार्क निर्माण गरिएको हो । प्रथम सहितको मृत्यु भएको एक सताब्दि (१०१ वर्ष) पछि पार्क बनेको हो । 

 

अधिकारीको जन्म स्थल मन्थली नगरपालिका–२ कठजोर स्थित कठजोर चौरमा मन्थली नगरपालिका र वडाको साझेदारीमा पार्क निर्माण गरिएको वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताए । ‘नगर र वडाको आर्थिक सहयोग र समन्वयमा निर्माण गरिएको हो ।’ वडाका स्मरणीय व्यक्ति कृष्णलालको सम्झनामा ‘कृष्णलाल पार्क’ निर्माण गरेर स्वर्गीय अधिकारी प्रति सम्मान प्रकट गरेको वडा अध्यक्ष कार्कीले बताए ।

 

अधिकारीको सम्झनामा चालु आर्थिक वर्षको नगर र वडाको साझेदारी योजना अन्तरगत ३० लाखको लागतमा पार्क निर्माण गरिएको वडा अध्यक्ष कार्कीले प्रस्ट पारे । उनका अनुसार पार्क निर्माणका लागि वडाको १५ लाख र नगरको १५ लाख गरी ३० लाख रुपैयाँ खर्च गरेका छन् । 

 

‘सालिकसँगै पार्क निर्माण गरी त्यसलाई घेरा बारा गरिएको सबै गरेर ३० लाख लागत लागेको हो’ सडक देखि पार्कसम्म पुग्ने सिँढी र रेलिङ समेत बनाइएको सुनाउँदै वडा अध्यक्ष कार्कीले भने । 

 

वडा भित्रका धार्मिक तथा सांस्कृतिक संरचनाहरूको संरक्षण संरक्षण गर्दै आएका वडा अध्यक्ष कार्कीले वडामा जनताको मन जित्ने गरी काम गरिरहेको दाबी गर्दै आएका छन् । 

साहित्यकार कृष्णलाल अधिकारी

विसं १९४४ माघ २४ गते हालको मन्थली नगरपालिका–२ कठाजोरमा जन्मिएका कृष्णलाल अधिकारी त्यति बेला सुब्बाको जागिरे थिए । जागिरे बेला उनले ‘मकै खेती’ नामक पुस्तक लेखेका थिए । 

 

मकैको खेती नामक पुस्तक लेखे बापत उनलाई विसं १९७७ साल साउन ११ गते राणाहरूले पक्राउ गरी जेलमा हाले । १९८० सालमा जेलमा उनको नै निधन भयो । नेपाली इतिहासमा सो घटना मकै पर्वको नामले परिचित छ । 

 

सुब्बाले मकैको खेती नामक पुस्तकमा मकैलाई दुःख दिने रातो र सेतो टाउको गरेका किरा हुन्छ भनी लेखेको उल्लेख छ । उनका विरोधीले रातो टाउके र सेतो टाउके भनेर रातो र सेतो क्याप लगाउने राणाहरूलाई भनेको हो भनी पोल लगाइदिएका थिए । 

 

सो पोल लगाएपछि उनले प्रकाशित गरेका सबै पुस्तक राणाहरूले जलाउन लगाए । एक हजार प्रति पुस्तक निकालेकोमा एक प्रति फेला परेन । सोही पुस्तक लुकाएको आरोपमा उनलाई जेल हालिएको थियो ।