पानीको मूल नफुट्दा रोपाइँमा समस्या, असार सकिँदा रामेछापमा ६५ % मात्रै रोपाई

| असार ३२, २०८१ सोमबार

फाइल फोटो ।
A A A
A A A

असार ३१, रामेछाप । रामेछापमा असार सकिँदा आधा भन्दा केही बढी धान रोपाई भएको छ । मुठ्ठी रोपेर मुरी फलाउने यो महिनामा जिल्लाका आठ वटै स्थानीय तहका धान रोपिँदै आएको खेतबारीमा अहिले पनि रोपाई चलिरहेको छ । विगतका वर्षाको जस्तो रासायनिक मलको अभाव भएको गुनासो खासै नसुनिए पनि रोपाई विभिन्न कारणले उत्हाजनक रूपमा भएको पाइएन । आकाशे पानी कै भर पर्नु पर्दा बेलैमा पर्याप्त वर्षा नहुँदा रोपाइँमा समस्या यो वर्ष पनि देखियो ।

 

आज असार अन्तिम दिन आइपुग्दा जिल्ला भर जम्मा ६५ प्रतिशत धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापले जनाएको हो । मध्य असारदेखि वर्षा भए पनि हाल सम्म पानीको मूल नफुट्दा रोपाई सोचे अनुसार हुन नसकेको मन्थली–१ का पशुपति न्यौपानेले बताए । स्थानीय सरकारले सिँचाइ सुविधाको लागि बेलैमा चासो नदिँदा र सिँचाइमा लगाउने पानीको मूल नहुँदा पनि समस्या भएको उनको भनाई छ । 

 

यो वर्ष मूल नफुटेका कै कारणले रोपाइँ गर्न नसकिएको मन्थली नगरपालिका–९ पुरानागाउँका राज श्रेष्ठले बताए । जलवायु परिवर्तनको कारण बर्खे झरी पनि सोचे अनुसारको नहुँदा धरै किसानका खेतबारी बाँझै रहेका छन् । पानीको मूल फुट्ने र रोपाइँ गर्ने आशमा रहेका जिल्लाका धेरै ठाउँका किसानहरू पर्याप्त पानी पर्ने आशामा छन् ।

 

मन्थली नगरपालिको भटौली, माडी मुहान, मन्थली फाँट, हात्तिटार र फुलासीको देवीटार फाँट र रामेछाप नगरपालिकाको साघुँटार फाँट, लिखु तामाकोशी गाउँपालिकाको खिम्ती बेसी, लगायतका स्थानमा मुख्य गरी धान रोपिँदै आइएको छ । विगतका वर्षाहरूमा रोपाई सकेर साउने सक्रान्ति मनाउने तयारीमा लाग्ने किसानहरू रोपाइको लागि बल्ल सुरसार थाल्ने तयारीमा रहेको पाइन्छ । 

 

रोपाइको मुख्य महिना सकिँदा सोमबार सम्म जिल्ला भर जम्मा ६५।०५ प्रतिशत रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख मीनबहादुर पुनले जानकारी दिए । ७ हजार ८ सय ५९ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको रामेछापमा गत वर्षमा केही उत्पादन बढेको थियो । 

मिलन घिमिरे
| भदौ ६, २०८१ बिहिबार