रामेछापको फर्पुमा पहिरोले घर बगाउँदा तीन जना किशोरीको ज्यान गयो

| साउन १०, २०८१ शुक्रबार

सांकेतिक तस्बिर ।
A A A
A A A

११ साउन, रामेछाप । रामेछापको फर्पुमा पहिरोले घरसहित बगाउँदा तीन किशोरीको ज्यान गएको छ । उनीहरूलाई घरमाथिबाट आएको पहिरोले घरसहित बगाएको हो ।

 

गए राति ८ ः ४० बजेको समयमा जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पु बस्ने विमान तामाङको घरमाथि देखि झरेको पहिरोले उनकी छोरीसहित दुई छिमेकीका छोरीहरू समेत बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

साँझको समयमा घर भित्र रहेकी विमान तामाङकी छोरी १८ वर्षीय सिता तामाङ, छिमेकीकी १५ वर्षीय आशिका दोङ र पदम १३ वर्षीय लक्ष्मी तामाङलाई माथिबाट आएको पहिरोले बगाएको हो । 

 

पहिरोले बेपत्ता बनाएको खबर प्राप्त हुने बित्तिकै (८ ः ५० बजे) खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ९ ः १५ बजे तीनै जना किशोरीलाई मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाकारी गराएको हो । 

 

बर्खा लागेसँगै साना तिना पहिरो बाहेक ठुलो घटना नभएको रामेछापमा एक्काशी पहिरो जाँदा फर्पुमा विमान तामाङसँगै छिमेकी पेमा तामाङ र पदम तामाङका छोरीहरू पहिरोमा परेका हुन् । 

 

घरसंगै बगेका तीनै जना किशोरीहरूलाई स्थानीय र प्रहरीसहित टोलीले खोजी गर्ने क्रममा राति आधा घण्टा पछि मृत फेला पारेको हो । मृतक तीनै जना किशोरीहरुको शव आज पोष्ट मार्टम गरेर परिवारको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले रामेछाप टाइम्सलाई बताए । 

 

प्रहरी प्रवक्ता न्यौपानेले भने 'आज हाम्रो टोली जाने तयारीमा छ, हामी गएर पोष्ट पार्टम गरेर शव परिवारको जिम्मा लगाउछौं । अकल्पनिए घटना भयो ।'

 

पहिरोले बगेको उक्त घरमा अन्य मानिसहरु भने नरहेको बुझिएको प्रहरीको भनाई छ ।