फर्पु पहिरो पीडित : राष्ट्रिय युवा संघ नेपालले गर्‍यो खाद्यान्न सहयोग

| साउन १२, २०८१ शनिबार

A A A
A A A

१२ साउन, रामेछाप । गत बिहीबार राति घरमाथिबाट बगेको पहिरोमा परी घरसहित ज्यान गुमाएका तीन किशोरीको परिवारलाई नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रामेछापले खाद्यान्न राहत प्रदान गरेको छ । 

 

शुक्रवार पीडित परिवारहरूको घर दैलोमा पुगेर संघ रामेछापका अध्यक्ष एवं मन्थली नगरपालिका वडा नं २ का वडा अध्यक्ष समेत रहेका सुरेन्द्रबहादुर कार्की सहितको टोलीले आपत्कालीन राहत स्वरूप त्रिपाल, चामल, नुन, तेल, दाल, साबुन, चिउरा, दालमोट  लगायतका सामाग्री प्रदान गरेको युवा संघ रामेछापका अध्यक्ष कार्कीले जानकारी दिए । 

 

तीन जना किशोरीहरूको निधनले शोकमा परेको परिवारलाई भेट गर्दै युवासंघले मृतक परिवारलाई समवेदना प्रकट गर्दै तत्कालको लागि आपत्कालीन राहत उपलब्ध गराएको वडा अध्यक्ष समेत रहेका कार्कीले बताए । 

 

‘जहाँ विपत्ति, त्यहाँ राष्ट्रिय युवा संघ नेपाल’ भन्ने मूल उद्देश्यसहित खाँडादेवी गाउँपालिकाका प्रमुख ज्ञानकुमार श्रेष्ठ, उप–प्रमुख रमा घिसिङ, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत सहितका व्यक्तिहरूको सहयोगमा युवा संघले पीडित परिवारलाई उक्त राहतका सामाग्री खरिद गरी पीडित परिवारलाई प्रदान गरिएको संघ रामेछापका अध्यक्ष कार्कीको भनाई छ । 

बिहीबार राति ८ ः ३० बजेको समयमा घरमाथिको कान्लो सहितको जमिन बग्दा गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुकी सीता तामाङ, लक्ष्मी तामाङ र आशिका तामाङको ज्यान गएको थियो । 

 

यस अगाडि जिल्ला विपद् व्यवस्थापन समितिले नगद २ लाख ५० हजार र जिल्ला रेड्क्रश सोसाइटी रामेछापले लत्ता कपडासहितको राहत सामाग्री पीडित परिवारलाई प्रदान गरेको थियो । 

 

त्यस्तै शनिवार नेपाली काँग्रेस रामेछापले पीडित परिवारहरूलाई राहत सामाग्री प्रदान गर्ने तयारी गरेको बुझिएको छ । त्यसको लागि सांसद समेत रहेका नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) शुक्रवारै मन्थली आइसकेको र शनिवार बिहानै राहत सहित त्यसतर्फ जान लागेको सभापति तामाङले जानकारी दिए । 

 

अकल्पनीय घटना घटेर पीडित बनेको गोकुलगंगा गाउँपालिकाले पनि नगद र खाद्यान्न सहितको राहत सामाग्री उपलब्ध गराउने र जोखिममा रहेका सो क्षेत्रका पीडितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा छलफल भइरहेको वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता चन्द्रबहादुर सुनुवारले जानकारी दिए । 

मिलन घिमिरे
| भदौ ६, २०८१ बिहिबार