गोकुलगंगा गाउँपालिकाको आकस्मिक बैठक : फर्पु पहिरो पीडितलाई प्रति परिवार ६५ हजार राहत दिने निर्णय

| साउन १३, २०८१ आइतबार

A A A
A A A

१३ साउन, रामेछाप । शनिवार बसेको गोकुलगंगा गाउँपालिकाको आकस्मिक बैठकले गत बिहीबार पहिरोमा परी ज्यान गुमाएका वडा नं ६ फर्पुका पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । 

 

वडा नं ६ फर्पुका वडा अध्यक्ष समेत रहेका गाउँपालिकाका प्रवक्ता चन्द्रबहादुर सुनुवारका अनुसार बैठकले घरमाथिबाट खसेको ढिस्कुले घरसहित पुरिएर ज्यान गुमाएका प्रति मृतक परिवारलाई ५० हजार राहत र १५ हजार काज किरिया खर्च गरी कूल ६५ हजार नगद सहयोग दिने निर्णय हो । 

 

एकै परिवार भित्रका तीन जना किशोरीहरूको ज्यान जाने गरी घटेको उक्त घटनामा दुख व्यक्त गर्दै गाउँपालिकाले शोकमा पारेको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको प्रवक्ता सुनुवारले जानकारी दिए । 

 

साथै पहिरो पीडितहरूको दीर्घकालीन पुनः स्थापना एवं स्थानान्तरण व्यवस्थापनको लागि समेत छलफल भएको वडा अध्यक्ष सुनुवारले बताए । 

 

यस अगाडि जिल्ला विपद् व्यवस्थापन समितिबाट २ लाख ५० हजार, जिल्ला रेडक्रस सोसाइटीबाट लत्ता कपडा, बाल्टिन सहयोग गरिएको थियो । 

 

त्यस्तै नेपाली काँग्रेस रामेछापका सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रति मृतक १०–१० हजारका दरले पीडित परिवारलाई सहयोग गरेका छन् ।

 

नेकपा एमाले निकट राष्ट्रिय युवा संघले समेत खाद्यान्न सहयोग गरेको छ । 

 

यता नेपाली काँग्रेस क्षेत्र नं १ (क) ले समेत पहिरोमा परी ज्यान गुमाएकाहरू प्रति शोक व्यक्त गर्दै गाउँपालिकाले पीडित परिवारलाई राहत, उद्दार, आवासको उचित प्रबन्ध गर्नेमा आसावादी रहेको बताएको छ ।