‘एनएफपिजे’को अन्तरक्रिया : शीर्ष राजनीतिक दलहरूले भने ‘धराशायी बनेका रामेछापका मिडियाहरू बचाउन हामी प्रतिबद्ध छौँ’

| भदौ ५, २०८१ बुधबार

A A A
A A A

५ भदौ, रामेछाप । रामेछापका शीर्ष राजनीतिक दलहरूले स्थानीय सरकारलाई मिडिया प्रति जिम्मेवार बनाउन आफूहरू प्रतिबद्ध रहेको प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे), जिल्ला शाखा रामेछापले १८५ औँ विश्व फोटो ग्राफी दिवसको अवसरमा बुधबार (आज) आयोजना गरेको ‘वर्तमान अवस्थामा पत्रकारको भूमिका विषयक राजनीतिक दलहरूसँगको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित राप्रपा नेपालका प्रतिनिधिले पछिल्लो समय मिडिया हाउँसहरु धराशायी हुँदा त्यसमा आबद्ध पत्रकार सञ्चारकर्मी समेत समस्यामा परेकाले तीनै तहका जनप्रतिनिधिहरू पार्टीबाट निर्वाचित हुने हुँदा जनप्रतिनिधिहरूलाई मिडियासँग सहकार्य गर्न आफूहरूले आग्रह गर्ने प्रतिबद्धता जनाएका हुन् ।

 

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले मिडियामा देखिएको समस्या समाधान गर्नको लागि प्रस्तावहरू हाम्रो पार्टी बैठकमा छलफलको रूपमा पेस भएमा उक्त प्रस्तावलाई निर्णायक ढङ्गमा लैजानको लागि नेपाली काँग्रेस प्रतिबद्ध रहेको भन्दै भने ‘तपाईँहरूले प्रस्ताव पेस गर्नुहोस् । त्यो प्रस्तावलाई हामी पार्टी हुँदै स्थानीय तहका जनप्रतिनिधिलाई पनि आग्रह गर्छौँ । र, प्रदेश हुँदै मिडियालाई सहयोग अनुदान समेतको व्यवस्था गर्न सक्ने गरी केन्द्रमा समेत पठाउन नेपाली काँग्रेस तयार छ ।’

 

उनीहरू भन्दा अगाडि बोलेका नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष हिमाल ढुङ्गेल, टिका प्रसाद भट्ट, नवराज पथिक, महासंघको प्रदेश कोषाध्यक्ष समेत एवं जिल्ला शाखाका पूर्व अध्यक्ष रमेश ढुङ्गेलसहितका पत्रकारहरूले जिल्लामा सञ्चालित रेडियो, अनलाइन, पत्रपत्रिका कोरोना महाकारी, आर्थिक मन्दीसहितका विविध कारणले बन्द हुने स्थितिमा पुगेको र राजनीतिक दलहरूले संचारमाद्यम जोगाउन लाग्नु पर्नेमा गुनासो गरेपछि बोलेका उपसभापति कार्कीले संचारमाद्यमहरु बचाउनु पर्नेमा नेपाली काँग्रेस सकारात्मक रहेको धारणा राखेका हुन् । उनले आफूहरू मिडियाको साथमा रहेको विश्वास सहितको धारणा राख्दै मिडियाले पनि तथ्य, प्रमाणको आधारमा समाचार, सूचना सम्प्रेषण गर्नु पर्नेमा जोड् दिए । पार्टी भित्रको समाचार खुल्ला रूपमा लेख्न आग्रह गरेका उपसभापति कार्कीले भने ‘सम्बन्धित पक्षलाई सोधेर लेख्नुहोस्’ भने ।

 

त्यस्तै नेकपा एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले पनि तीन तहका सरकार मध्ये स्थानीय सरकार यहाँ बढी जिम्मेवार रहेको भन्दै अगाडि भने ‘पार्टीमा समेत यो विषयमा छलफल गरेर ‘मिडियालाई बचाउने काम’ एकताबद्ध तरिकाले हार्दिकता पूर्वक अगाडि लान्छौँ ।’ मिडियामा राज्यको लगानी शून्य रहेको बताएका सचिव कार्कीले पत्रकारहरूले सकारात्मक विषय वस्तुलाई उठान गर्न सक्नु पर्ने तर्फ जोड् दिए । पत्रकारहरूले प्रविधिको प्रयोग गर्दै निष्पक्ष भएर नागरिकलाई सत्य सूचना दिनु पर्ने बताए । मिडियाहरूले पनि आफ्ना कमी कमजोरीलाई सुधार गर्नु पर्नेमा उनले सुझाए । 

त्यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य उद्धव रम्लेलले पत्रकारहरूले नकारात्मक कुरालाई मात्रै सूचना दिने गरेको होकि भन्दै त्यो परि पार्टी परिवर्तन गर्नु आवश्यक रहेको बताए ।जनप्रतिनिधि, वडा अध्यक्षहरूले राम्रो काम गरेको भए पनि ती कुरा मिडियामा आउन नसकेको सुनाउँदै गलत कुरा मात्रै मिडियामा आएको उनको दाबी छ । पत्रकारहरू भित्रका केही नकारात्मक व्यक्तिहरूको कारण पेसा नै बदनाम हुने स्थिति रहेको बताएका नेता रम्तेलले समाजमा घटेका सबै घटनाहरूलाई जस्ताको तस्तै पूर्याउन उनको जोड् छ । उनले पत्रकारहरू दलियकरण हुन नहुने जिकिर गरे ।

 

त्यस्तै राप्रपा नेपालका अध्यक्ष रामचन्द्र कँडेलले पत्रकारहरूले पनि मिडिया संचालक र मिडिया फरक हुनु पर्नेमा जोड् दिँदै पत्रकारले जीवन चलाउन सक्ने गरी मिडियाको वातावरण तयार गर्नु पर्नमा जोड् दिए । अध्यक्ष कडेंलले पत्रकारिता लोकतन्त्रको खम्बा भएकाले यसको संरक्षण र विकासका लागि राज्य लाग्नुपर्नेमा जोड् दिए । 

 

अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरेले मिडियाहरू धराशायी अवस्थामा पुगेर लोकतन्त्र नै धरापमा पर्ने खतरा रहेको धारणा राखे । मिडियाहरूले भ्रष्ट्राचार र शुसानको क्षेत्रमा निकै राम्रो काम गरेको बताएका महासंघका अध्यक्ष नयाँघरेले पत्रकारहरू विभिन्न सङ्गठनको नाममा विभक्त भए पनि कर्म र काममा एकै ठाउँमा रहेको जिकिर गरे । संचारमाद्यमहरु जोगाउनु राजनीतिक दलहरूको दायित्व भएको स्मरण गराउँदै उनले जनप्रतिनिधिहरूलाई जिम्मेवार बनाउन राजनीतिक दलले सक्नु पर्नेमा जोड् दिए । 

महासंघका प्रदेश कोषाध्यक्ष रमेश ढुङ्गेलले एक भूगोलमा जति पनि मिडिया खोल्न पाउने नीति र प्रक्रियाको कारण पनि केही समस्या भएको भन्दै धेरै मिडिया खोल्ने भन्दा भएकालाई व्यवस्थित तरिकाले सञ्चालन गर्न यहाँका सबै लाग्नु पर्ने धारणा राखे । 


प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञान श्रेष्ठले मिडियाकर्मी र पत्रकार एकै हुँदा पनि समस्या भएको स्वीकार गर्दै जिल्लामा राजनीतिक दलहरूले पत्रकारहरूलाई पनि सँगै लिएर हिँड्नु पर्नेमा जोड् दिइन् । 

 

प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठले जिल्लाका सबै स्थानीय तह र वडाहरूमा संचारमाद्यम प्रति जिम्मेवार ढङ्गले सहकार्य गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको जोड् दिए । साथै, उनले निर्वाचनमा पत्रकार सञ्चारकर्मी चाहिने अरू बेला वास्ता नगर्ने परि पार्टी परिवर्तन गर्न आवश्यक रहेकोमा जोड् दिए । 

 

नेकपा एमाले नटिक विद्यार्थी संगठन (अनेरास्ववियु) रामेछापका अध्यक्ष पुष्कर भट्टराईले सामाजिक सञ्जालमा सस्तो लोकप्रियताको लागि जसले जे पनि गर्ने परिपाटी रहेको सङ्केत गर्दै पत्रकारहरूले त्यस्ता कुरालाई कलमको मद्यमाबाट चिर्नु पर्ने धारणा राखे । उनले पत्रकारितामा  लागेकाहरूमा राजनीतिक आस्था र विश्वास हुने भए पनि दलियकरण हुन नहुने सुझाए ।