वर्षाका कारण जीर्ण बनेको गोगनपानी–गाल्वा सडक भदौ २० गते सम्म मर्मत गरिदिने र यही वर्ष निर्माण सक्ने ठेकेदारको लिखित प्रतिबद्धता

| भदौ ८, २०८१ शनिबार

A A A
A A A

८ भदौ, रामेछाप । लामो समय बित्ता पनि निर्माण कम्पनीले काम सम्पन्न नगरेको भन्दै जनप्रतिनिधिहरू नै पूर्वाधार कार्यालय मन्थली आएर धर्ना सम्म दिनु परेको गोगनपानी–गाल्वा सडक निरन्तरको वर्षाको कारण बिग्रिएपछि निर्माण कम्पनीले दुई हप्ता भित्र मर्मत गरिदिने लिखित सहमति गरेको छ । साथै यसै आर्थिक वर्ष भित्रै काम सक्ने समेत निर्माण कम्पनीले लिखित प्रतिबद्धता जनाएको छ । 

 

शुक्रवार पालिकाकी उपाध्यक्ष रमा घिसिङ, प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीलाई एक प्रतिबद्धता पत्र बुझाउँदै सडक निर्माणको जिम्मा पाएको दिवा–ओमबुद्ध–अर्याल जे.भीका आधिकारिक प्रतिनिधि संजय अर्यालले यही भदौको २० गते भित्र बिग्रिएको सडक मर्मत गर्ने प्रतिबद्धता गरेका हुन् । 

 

उपाध्यक्ष घिसिङलाई निर्माण कम्पनीको तर्फबाट बुझाइएको पत्रमा 'वर्षाको कारण विभिन्न ठाउँमा सडक बिग्रिएको, आवाश्यक ठाउँमा ह्युमपाइप बगाएर लगेको, पुरिएको' जस्ता समस्या भएका ती समस्या समाधान गर्दै नाली सफा गर्ने, पहिरो सफा गर्ने कार्य यही २० गते सम्म सकाउने उल्लेख गरिएको  गाउँपालिकाले सार्वजनिक गरेको पत्रमा उल्लेख छ । 

 

पूर्वाधार कार्यालय रामेछापका प्रमुख वीरेन्द्र कुमार बज्राचार्यसहितको उपस्थितमा गरिएको उक्त लिखित सम्झौतामा बिग्रिएको ठाउँमा मर्मत सहित कालो पत्रेको लागि आवश्यक पूर्वधारहरुको निर्माण गर्दै चालु आर्थिक वर्ष २०८१/०८२ भित्रै कार्य सम्पन्न गर्ने प्रतिबद्धता गरिएको पत्रमा उल्लेख छ ।

 

केही समय अगाडि निर्माण कम्पनीले यो सडक अलपत्र पारेको भन्दै आक्रोशित स्थानीयहरू सहित उपाध्यक्ष घिसिङको नेतृत्वमा वडा अध्यक्षहरू समेत पूर्वाधार कार्यालय मन्थली आएर अलपत्र सडक काम तत्काल अगाडि बढाएर सक्न आग्रह गरेका थिए । उक्त विरोधपछि गाउँपालिकामा बसेको बैठकले तत्काल काम थाल्ने प्रतिबद्धता पछि निर्माणले गति लिएको थियो । 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार