रामेछाप र दोलखाको सीमा : मिल्ती खोलामा आएको बाढीले चार घर बगायो, पक्की पुल र एक घर उच्च जोखिममा

| भदौ ९, २०८१ आइतबार

A A A
A A A

०९ भदौ, रामेछाप । रामेछाप र दोलखाको सीमा भएर बहने मिल्ती खोलामा गए राति आएको बाढीले ठुलो धनमालको क्षति गरेको छ । हिजो एकै दिन रामेछाप बाढी पहिरोको चपेटोमा परेको छ । 

 

शनिवार राति आएको भीषण बाढी सहितको खोलो बजारमा बस्दा त्यहाँको स्थानीय बजारमा ठुलो क्षति गरेको उद्धार कार्यमा घटनास्थलमा पुगेका रामेछाप उद्योग वाणिज्य संघका सचिव यज्ञ सुवेदीले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार बाढीले मन्थली नगरपालिका वडा नं १३ फुलासीको मिल्ती बजार रामेछाप तर्फ ठुलो क्षति गरेको हो । बाढीले मिल्ती बजारका हर्क माया खड्काको उत्सा किराना पसल (किराना तथा फेन्सी) मा पूर्ण रूपमा क्षति पुर्‍याएको छ । 

 

त्यस्तै युवराज फुयाँलको फर्निचर तथा होटेल, देवेन्द्र मगर होटेल तथा खाजा घर, सरोज तामाङको फेन्सि तथा रेडिमेट पसल सहित घर पूर्ण रूपमा क्षति ग्रस्त भएको छ । उनको पसलको सबै सामाग्री खोलाले बगाएको छ । 

 

केशव उपाध्याको घरसहित पसल उच्च जोखिम रहेको संघका सचिव सुवेदीले बताएका हुन् । उक्त बाढीले त्यहाँ युवराज फुयाँलको फर्निचर उद्योगका सबै औजार, उपकरणहरूसहित बगाएको छ । उक्त फर्निचर उद्योग भएकाले ठुलो क्षति पुगेको पीडित परिवारले बताएको सचिव सुवेदीले सुनाए । 

 

सार्वजनिक जग्गामा टहरो हालेर व्यापार व्यवसाय गर्दै आएका उनीहरू लामो समयदेखि त्यहाँ बस्दै आएका थिए । 

 

आफूहरूले घटनास्थलमा पुगेर उद्धार कार्य गरेको सुनाउँदै माथिबाट धारै परिवर्तन गरेर खोला आउँदा तामाकोशी–खिम्ती हुँदै मन्थली जोड्ने मिल्ती खोलाको पक्की पुल उच्च जोखिममा पारेको बताए । ‘साना गाडी सम्म त चल्छ । तर, ठुला गाडी चलाएमा पुल जोखिम छ ।’

गए राति एक्कासि ३ ३० बजे तिरको समयमा आएको बाढीले देवेन्द्र मगरको ३ लाख, गणेश खड्काको ६ लाख, विकास मगरको ४ लाख ५० हजार, युवराज खत्रीको ५ लाख ७५ हजार र सरोज तामाङको गरी २० लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

बाढीको कारण पूर्ण रूपमा क्षति ग्रस्त बनेको मिल्ती खोलाको पुल अहिले केही मर्मत गरेर सुचारु गरिएको रामेछाप प्रहरीको भनाई छ । गए राति नै दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेखखर्कमा पनि पहिरो जाँदा ६ जनाको मृत्यु, चार जना बेपत्ता र एक जना गम्भीर घाइते भएका छन् । 

 

त्यस्तै त्यहाँ पहिरोले चार वटा घर बगाउँदा जिल्ला नै बाढी पहिरोको चपेटोमा परेको छ ।