दोरम्बा लेखर्क पहिरो : थप एक जनाको शव भेटियो, अझै ३ जना बेपत्ता खोजी जारी

| भदौ १०, २०८१ सोमबार

आइतबार उद्दार तथा खोज तलाश गरिँदै, तस्बिर समाजिक संजाल ।
A A A
A A A

१० भदौ, रामेछाप । दोरम्बा शैलुङ् गाउँपालिका ३ लेखर्कमा हिजो शनिवार राति गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । आज थप १ जनाको शव भेटिएको हो । 

 

पहिरो गएको स्थानमा बिहानै देखि नेपाली सेना ,नेपाल र सशस्त्र प्रहरी बल सहितको टोलीले खोजतलास गर्ने क्रममा १२ : १५ बजेको समयमा ७५ वर्षिय पुड्की पहरीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

चार घर परिवारको ५ घर पहिरोले पूर्ण क्षति गरेको त्यहाँ आइतबारै खोजतलास गर्ने क्रममा शिक्षिका ३० वर्षीय चण्डिका श्रेष्ठ, उनका १८ महिने छोरा आमुष श्रेष्ठ मृत भेटिएका थिए । 

 

त्यस्तै ५७ वर्षकी उर्मिला पहरी, ३० वर्षिय सन्दीप पहरी, ११ वर्षिय सन्तोष पहरी, १४ वर्षिय विज्ञान पहरी पनि मृत भेटिएका थिए । उनीहरू चार जना एकै परिवारका हुन् । आज थप एक जना मृत भेटिएसँगै मृतकको संख्या ७ पुगेको छ । 

 

अझै ३ जना बेपत्ता छन् । एक जना घाइते ११ वर्षिय अन्जना श्रेष्ठ को काठमाडौँमा उपचार भइरहेको छ । उनको अवस्था सुधार जनक रहेको बताइएको छ । उनी शिक्षिकाको घरमा बस्न आएकी थिइन् । 

 

ठाउँ–ठाउँमा चिरा परेर दुई तिरबाट पहिरो बगेपछि त्यहाँका उच्च जोखिममा परेका ६० घर परिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा राखिएको छ । 

 

आइतबार मृत भेटिएका ६ जनाको सोही दिन पोस्टमार्टम पछि आफन्तलाई शव हस्तान्तरण गरिएको थियो । 

 

साथै, उक्त पहिरोले वडा नं २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल बगाएको छ । मर्मत पछि त्यहाँबाट सवारी भने सुचारु गरिएको छ ।