रामेछापको नागदहमा वृद्धा महिलाले कानमा लगाएको सुन आँखामा खोर्सानीको धूलो दलेर लुट्ने चन्द्र घिसिङ सुनसहित पक्राउ

विभिन्न चोरीका घटनामा संलग्नहरू १२ जना पक्राउ परे

| भदौ १६, २०८१ आइतबार

A A A
A A A

१६ भदौ, रामेछाप । रामेछाप प्रहरीले लिखु तामाकोशी गाउँपालिका–५, नागदहमा वृद्धा एकल महिलाले कानमा लगाएको सुन आँखामा खोर्सानीको धुलो छर्किएर लुटपाट गर्ने एक जना किशोरलाई पक्राउ गरेको छ । 

 

गएको साउन ३० गते दिउँसो १ : ३० बजे पालिकाको नागदह पिपलदिपकी ६० वर्षीय सुन्तलीमै तामाङको वडा कार्यालयमा एकल महिला भत्ता कार्ड नवीकरण गरी घर फर्किँदै गर्दा बाटोमा उनको घाँटीमा समातेर आँखामा खोर्सानीको धुलो दली अन्दाजी १.५ (डेढ) तोलाको सुनको रिङ लुटिएको थियो । 

 

यसरी दुवै कानको लोती चुँडाई सुन लुटपाट गर्ने नागदहकै आहाल डाँडाका १९ वर्षीय किशोर चन्द्र घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछाप र इलाका प्रहरी कार्यालय धोबी डाँडाबाट खटिएको विशेष टोलीले अनुसन्धानको शनिवार पुष्टि गरेको थियो । 

 

शनिवार उनलाई सोही ठाउँमा फेला पारी पक्राउ गरेर अनुसन्धान गर्दा घिसिङले सो सुन लुटपाट गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले आइतबार जानकारी दिए । सुन लुटेको स्वीकार गरेका घिसिङको खानतलासी गर्दा उक्त सुन समेत फेला पारेको प्रवक्ता न्यौपानेले बताए । 

 

वृद्ध एकल महिलाको सुन लुट्ने घिसिङलाई जिल्ला अदालत रामेछापबाट डाँक शीर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको रामेछापका प्रहरी प्रवक्ता न्यौपानेले बताए । 

 

पछिल्लो दुई सातामा जिल्लामा विभिन्न चोरीका घटनामा संलग्नहरू १२ जना पक्राउ परिसकेका छन् ।